काठमाडौं । नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले पुराना नेताका हातमा राजनीति गए देश ठूलो द्वन्द्वतर्फ जाने दाबी गरेका छन् । चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) सँग एकता घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले 'जेनजी' आन्दोलनको सन्देश नबुझ्नु नालायकी हुने बताए ।
“ठूला पार्टीका नेताले दरकिनार गर्दै छन् । हिजो समाजले अस्वीकार, बहिष्कार गरेका तिनै मान्छे आफूभित्रको गुटबन्दी, गिरोहबाट ब्युँतिएर फेरि राष्ट्रिय राजनीतिको लगाम समाउने प्रयत्न गर्दैछन्,” उनले भने ।
उनले असली अनुहार ढाकछोप गरे पनि राजनीति पुरानाकै हातमा गए मुलुक डरालाग्दो द्वन्द्वमा जाने टिप्पणी गरे । “राजनीति फेरि तिनै पुरानाको हातमा गयो भने अर्को डरलाग्दो द्वन्द्वमा मुलुक जानेछ,” उनले भने ।
राजनीतिको चुलीमा बसेर आफ्नो स्वार्थ पूरा गर्ने केही नेताका कारण मुलुक बहुपक्षीय द्वन्द्व र असफलतातिर जाने भनाइ उनको छ । त्यसमा कम्युनिस्ट आन्दोलनका नेता छन् भन्ने कुराले आत्मग्लानी भएको उनले सुनाए ।
साथै, भुसालले नेपाली कम्युनिस्ट पार्टीमा वैचारिक कुरा उठ्ने बित्तिकै चार टुक्रा हुने दाबी गरे । वैचारिक कुरा नगर्ने, चुनावको कुरा मात्रै गर्ने गरी नेताहरू गएको दाबी उनको छ ।