काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई संगठनमा फर्किन आग्रह गरेको छ ।
विगतका निराशा, असहमति वा परिस्थितिजन्य कारणले पार्टीबाट टाढा रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा फर्किन जसपाले खुला आह्वान गरेको हो ।
अहिले राष्ट्रिय राजनीति, पहिचान–अधिकारका मुद्दा, संघीयता, समावेशीकरण र संविधान संशोधनका एजेन्डा पुनः केन्द्रीकृत हुँदै गएका बेला जसपाको आवश्यकता बढेको धारणासहित जसपाले संगठनमा फर्किन भनेको हो ।
“जनता समाजवादी पार्टी, नेपाल पछिल्लो समय संगठनात्मक रूपमा कमजोर पार्ने विभिन्न चलखेल, विभाजन र बहिर्गमनजस्ता घटनाबाट गुज्रिँदै आएको तथ्य लुकेको छैन,” जसपाका सचिव शैलेन्द्रप्रसाद साहले बाह्रखरीसित भने, “पार्टीको हालैको बैठकले विगतका निराशा, असहमति वा परिस्थितिजन्य कारणले पार्टीबाट टाढा रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा फर्किन खुला आह्वान गरेको हो ।”
पार्टी एकतालाई सर्वोपरी राख्दै नयाँ गति र ऊर्जा दिन गरिएको यो कदम संगठनलाई पुनर्जीवित बनाउने महत्त्वपूर्ण अवसर भएको साहको भनाइ छ ।
उनले थपे, “महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, अशोक राई, जेपी गुप्ता, रेणु यादव, दान विश्वकर्मा, डम्बर खतिवडा, महेन्द्र यादव, युवराज कार्कीलगायत पुनः एकताबद्ध भएर संगठनको मुख्य धारमा जिम्मेवारीसहित उभिन सक्ने हो भने जसपा नेपाल फेरि बलियो, वैकल्पिक र भरोसायोग्य शक्ति बन्नेमा कुनै शंका रहनेछैन ।”
नेताहरूको अनुभवी नेतृत्व, राजनीतिक परिपक्वता र देश परिवर्तनप्रतिको प्रतिबद्धता एक ठाउँमा जोडिन सके पहिचान र अधिकारका एजेन्डालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सकिने उनको तर्क छ ।
घीयता र समावेशीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन, भ्रष्टाचार, अस्थिरता र नीतिगत भ्रमबाट थिलथिलो बनेको राजनीतिक वातावरणमा वैकल्पिक मार्गचित्र प्रस्तुत गर्न र मधेशदेखि हिमालसम्मका नागरिकलाई एउटै राजनीतिक छातामुनि समेट्न जसपा सक्षम शक्ति बन्न सक्ने उनले दाबी गरे ।