काठमाडौं । चीनले आफ्नो सीमा क्षेत्रमा मानवजस्ता देखिने रोबोटहरू तैनाथ गर्ने भएको छ । यी रोबोटहरूले यात्रुहरूलाई मार्गदर्शन गर्ने र भीड नियन्त्रण गर्नेछन् ।
शेन्जेनस्थित यूबीटेक रोबोटिक्स कम्पनीले यसको परीक्षणात्मक परियोजनाका लागि करोडौं डलर प्राप्त गरेको बताएको छ ।
चीनको भियतनाम सीमामा रहेको ह्युमनोइड रोबोटिक्स परीक्षण केन्द्रले उक्त कम्पनीलाई ३७ मिलियन डलरको सम्झौता गरेको छ ।
यो परियोजनामा यूबीटी टेक कम्पनीको ‘वाकर एस२’ रोबोट प्रमुख रूपमा प्रयोग गरिने बताइएको छ । यी रोबोटहरूले सीमा व्यवस्थापन, सामान ढुवानी र कारखानाहरूमा गस्ती गर्ने कार्यमा सहयोग गर्नेछन् ।
यूबीटेक कम्पनीले डिसेम्बर महिनादेखि नै यी रोबोटहरूको वितरण सुरु गर्ने बताएको छ । यी रोबोटहरूले आफ्नै ब्याट्री आफैँ बदल्न सक्नेछन् । तर, यी रोबोटहरू कृत्रिम बुद्धिमत्ताद्वारा संचालित हुने वा रिमोट कन्ट्रोलबाट नियन्त्रित हुने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।
चीन सरकारले घरेलु कम्पनीहरूलाई मानवजस्ता देखिने रोबोटहरू विकास गर्न प्रोत्साहन गरिरहेको छ । चीनले विश्वको रोबोट उद्योगमा प्रमुख खेलाडी बन्नसक्ने अपेक्षा गरिएको छ ।
कन्सल्टिङ फर्म लिडरोबोटको अनुमान अनुसार, सन् २०२५ सम्ममा चीनको ह्युमनोइड रोबोट उद्योगको मूल्य कुल ११.६ अर्ब डलर पुग्नेछ । यो सम्पूर्ण विश्वमा भएको ह्युमनोइड रोबोट व्यापारको लगभग आधा हुने अनुमान छ । एससीएमपीबाट ।