काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र कुलमान घिसिङसँग पनि सहकार्य गरेर निर्वाचनमा होमिने नीति लिएको छ । सोही नीति अनुरुप रास्वपाका पदाधिकारीले विभिन्न चरणमा सम्बन्धित व्यक्तिहरूसँग संवाद गरेको दाबी गरेको छ ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बाह्रखरीसँग भने, “हामीले विभिन्न चरणमा संवाद गरेका छौँ । सबै पक्षलाई समेटेर हामी अगाडि बढ्न चाहन्छौँ । सकेसम्म सबैलाई सँगै लैजाने हो ।”
उनले चुनावका लागि सबैलाई समेटेर लैजाने नीति लिए पनि चुनाव चिह्न भने घण्टी नै रहने बताए । “हामीसँग आउनेले घण्टीबाटै चुनाव लड्नु हुनेछ । अन्य चुनाव चिह्नबाट पनि लड्ने छुट त हुन्छ । हामी अन्य १०-१२ वटा समूहसँग छलफलमा छौँ,” उनले भने ।
सबै वैकल्पिक शक्तिलाई मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन रास्वपाले आह्वान गरेको छ ।