काठमाडौं । मधेस प्रदेश सरकारले उखु किसानलाई यसअघि दिँदै आएको अनुदान रकमलाई निरन्तरता दिन संघीय सरकारलाई लिखित अनुरोध गर्ने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्राप्त गर्दै आएकोमा हाल उक्त रकम प्राप्त नहुँदा किसान तथा उद्योगसमेत समस्यामा परेकाले बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरिने बताए । उनले आगामी वर्षसमेत उक्त अनुदान रकमलाई निरन्तरता दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिने जानकारी दिए ।
उनले धान काट्ने समयमा वर्षाबाट ठूलो क्षति भएको र सो क्षतिको विवरण स्थानीय पालिकामा दर्ता गराएका किसानहरूलाई राहत स्वरूप १५०० रूपैयाँ प्रतिकठ्ठा राहत उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने बताए ।
मुख्यमन्त्री यादवले स्नातक तह पास गरी बेरोजगार रहेका युवालाई प्रतिमहिना दुई हजारका दरले (जीवन निर्वाह) भत्ता दिने प्रक्रियाअगाडि बढाइरहेको जानकारी दिए ।
मधेस प्रदेशका सबै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोधसमेत गरेको मुख्यमन्त्री यादवले बताए ।