काठमाडौं । युक्रेनले रूससँगको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको शान्ति सम्झौतामा अमेरिकासँग साझा समझदारी कायम भएको बताएको छ ।
यो प्रस्ताव गत हप्ता अमेरिकाले युक्रेनलाई प्रस्तुत गरेको २८ बुँदे योजनामा आधारित रहेको उल्लेख छ, जसमाथि अमेरिकी र युक्रेनी अधिकारीहरूले केही दिनअगाडि जेनेभामा भएको वार्ताका क्रममा संशोधन गरेको जानकारी दिइएको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक योजनालाई दुवै पक्षका थप सुझावसहित सुधार गरिइएकोे बताएका छन् ।
ट्रम्पले आफूले विशेष दूत स्टिभ विटकोफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको बताएका छन् । सोही समयमा सैन्य सचिव ड्यान ड्रिस्कोलले युक्रेनीहरूसँग भेट्ने जानकारी दिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख स्टाफले ड्रिस्कोलले यसै हफ्ता किभ भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
क्रेमलिनले यसअघि नै नयाँ मस्यौदा सम्झौता रूससँग छलफलबिना तयार गरिएको बताएको थियो । गत हप्ताको योजनामा भएका संशोधनहरू स्वीकार नगर्ने चेतावनी दिएको थियो ।
रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को प्रारम्भिक अमेरिकी ढाँचाको पक्षमा रहेको तर यसमा ठूला परिवर्तन भए स्थिति अमान्य हुने बताएका छन् ।
लाभरोभले मंगलबार बिहानसम्म क्रेमलिनले नयाँ योजनाको प्रतिलिपि प्राप्त नगरेको दाबी गर्दै युरोपले अमेरिकी शान्ति प्रयासलाई कमजोर पारेको आरोप लगाएका छन् ।
अमेरिकी अधिकारीहरूले रूसको चिन्तालाई सार्वजनिक रूपमा सम्बोधन गरेका छैनन् । यद्यपि, अमेरिकी सैन्य सचिव ड्यान ड्रिस्कोल र रूसी प्रतिनिधिहरूबीच सोमबार र मंगलबार अबुधाबीमा बैठक भएको छ ।
मुख्य विवादका विषयहरू अझै टुंगो लागेनन्
रूस र युक्रेनबीच अझै पनि केही गम्भीर मतभेदका मुद्दाहरू बाँकी छन् । विवादित विषयमा किभका लागि सुरक्षा सुनिश्चित र युक्रेनको पूर्वी क्षेत्रमा रहेका धेरै विवादित भूभागहरूको नियन्त्रणलगायत छन् ।
जेलेन्स्कीले मंगलबार संवेदनशील बुँदाहरूमा छलफल गर्न ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन् । उनको प्रशासनले यो भेट यस महिनाभित्रै गर्ने लक्ष्य राखेको छ ।
जेलेन्स्कीले अमेरिकी पक्ष र राष्ट्रपति ट्रम्पसँग थप सक्रिय सहयोगको अपेक्षा रहेको बताउँदै रूसले अमेरिकी शक्तिलाई सबैभन्दा बढी महत्व दिने भएकाले धेरै कुरा अमेरिकामै निर्भर रहने बताएका छन् ।
ह्वाइट हाउसले द्विपक्षीय वार्ताको सम्भावनाबारे कुनै टिप्पणी गरेको छैन । तर, ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू जेलेन्स्की र पुटिनसँग चाँडै भेट्न उत्सुक रहेको बताएका छन् । तर, त्यो युद्ध अन्त्य गर्ने सम्झौता अन्तिम बन्ने वा अन्तिम चरणमा पुग्ने बेला मात्र सम्भव हुने ट्रम्पले प्रष्ट पारेका छन् ।
युरोपेली देशहरूको आशंका
ह्वाइट हाउसको आशा विपरीत, युरोपेली नेताहरूले लगभग चार वर्षको युद्धपछि शान्ति नजिकिएको सम्भावनाबारे शंका व्यक्त गरेका छन् । फ्रान्सका इमानुएल म्याक्रोनले युद्धविरामका लागि रूसी चाहना नदेखिएको बताएका छन् । बेलायतको डाउनिङ स्ट्रिट (प्रधानमन्त्री कार्यालय)ले अझै धेरै लामो र कठिन यात्रा बाँकी रहेको चेतावनी दिएको छ ।
युक्रेनका युरोपेली सहयोगीहरूले मंगलबार म्याक्रोन र बेलायती प्रधानमन्त्री सर किएर स्टार्मरको अध्यक्षतामा भर्चुअल बैठक गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि सहभागी रहेको उक्त बैठकमा नेताहरूले शान्ति सम्झौता भएपछिको सुरक्षा ग्यारेन्टी सम्बन्धी कामलाई तीव्रता दिन अमेरिकासँग मिलेर एउटा कार्यदल गठन गर्ने सहमति जनाएका छन् ।
सुरक्षा सुनिश्चित गर्नु केवल मस्को र किभबीचको विवादको एक पक्ष हो । जेलेन्स्कीले सोमरबार शान्ति प्रक्रिया अवरुद्ध गर्ने मुख्य समस्या पुटिनले रूसले कब्जा गरेका क्षेत्रहरूको कानुनी मान्यता माग्नु रहेको बताएका छन् ।
मस्कोले लगातार पूर्वी डोनबासको सम्पूर्ण भागबाट युक्रेनी सेनाको फिर्ती माग गर्दै आएको छ । रूसी सेनाले क्राइमिया प्रायद्वीपसहित खेरसन र जापोरिज्जियाका ठूलो भागलाई नियन्त्रणमा राखेको छ । बीबीसी