site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको दाबी- लुटिएका हतियार फर्काइसक्यौँ, ठूलो संख्यामा कैदीहरू फर्किसके

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले 'जेनजी' आन्दोलनका क्रममा प्रहरीका लुटिएका हतियारहरू सरकारले फर्काइसकेको दाबी गरेका छन् । त्यसक्रममा फरार भएका कैदीहरूमध्ये धेरै फिर्ता भइसकेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले निर्वाचनको लागि राजनितिक दलहरूले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औँल्याएको बताए । विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याइसकेको उनले दाबी गरे । ठूलो संख्यामा कैदीहरू पनि फिर्ता भइसकेको उनको भनाइ छ ।

"राजनीतिक दलहरूले फरार कैदीबन्दी र लुटिएका हतियारलाई निर्वाचनको प्रमुख सुरक्षा चुनौतीको रूपमा औँल्याउनुभएको छ," गृहमन्त्री अर्यालले भने, "हामीले विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याइसकेका छौँ भने ठूलो संख्यामा कैदीहरू पनि फिर्ता भइसकेका छन् ।"

अर्यालले निर्वाचनलाई नै मूल मन्त्र बनाएर सरकारले काम गरिरहेको बताए । वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनको भनाइ छ । सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको उनको भनाइ छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै गृहमन्त्री अर्यालले केही व्यक्तिहरू सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको टिप्पणी गरे । निर्वाचन हुँदैन भन्नेहरूलाई सरकारले कामले जवाफ दिने र दिइरहेको अर्यालको भनाइ छ । ओलीले वर्तमान सरकारले निर्वाचन गराउनेमा बारम्बार प्रश्न उठाइरहेका छन् ।

"विभिन्न बाहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैन भन्ने कहीँ कतै सुनिएका पनि होलान्," गृहमन्त्री अर्यालले भने, "सार्वजानिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ, दिइरहेको पनि छ ।"

अर्यालले आफ्नो ईच्छाले आफूहरू सरकारमा नआएको पनि दाबी गरे । देश शून्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरू केन्द्रित रहेको उनको भनाइ छ ।

शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको अर्यालको भनाइ छ । संघीय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चातका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनको भनाइ छ ।

केन्द्रीय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने अर्यालले बताए ।

निर्वाचनको तयारीस्वरुप नै लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको उनले बताए । अन्य प्रदेशमा पनि गोष्ठी आयोजना गर्ने उनको भनाइ छ । प्रहरीहरूलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए । राजश्व चुहावट नियन्त्रणलाई विशेष ध्यान दिन पनि उनले निर्देशन दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्