काठमाडौं । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक कास पटेल विवादमा तानिएका छन् । आफ्नी प्रेमिका एलेक्सिस विल्किन्सको निजी सुरक्षाका लागि शक्तिको दुरुपयोग गर्दै उच्च तालिमप्राप्त 'स्वाट' टोली खटाएको आरोप उनीमाथि छ ।
भारतीय मूलका अमेरिकी नागरिक पटेल लामो समयदेखि लोक गायिका विल्किन्ससँग प्रेम सम्बन्धमा छन् ।
हालै नेसनल राइफल एसोसिएसनको वार्षिक सम्मेलनमा जाँदा विल्किन्सलाई स्वाट टोलीका दुई सुरक्षाकर्मीसहित देखिएपछि यो विषय चर्चामा आएको हो । स्वाट टिम अमेरिकाको विशेष तालिम प्राप्त सुरक्षा इकाइ हो, जसलाई मुख्यतया आतंकवादी गतिविधि नियन्त्रण र बन्धक रिहाइजस्ता जटिल अपरेसनका लागि प्रयोग गरिन्छ ।
विल्किन्सलाई त्यस कार्यक्रममा कुनै सुरक्षा खतरा नभएको भन्दै ती सुरक्षाकर्मी फर्किएका थिए । तर, उल्टै पटेलले सुरक्षाकर्मीले जिम्मेवारी पूरा नगरेको भन्दै टिम कमान्डरसँग गुनासो गरेपछि घटना बाहिर आएको हो ।
आफ्नो कार्यकालको सुरुवाती नौ महिनामै पटेलमाथि करदाताको पैसा र सरकारी स्रोतसाधनको दुरुपयोग गरेको प्रश्न उठेको छ । यसअघि पनि स्कटल्यान्डको एक निजी रिसोर्टमा साथीहरूसँग गल्फ खेल्न जाँदा उनले सरकारी जेट प्रयोग गरेको आरोप लागेको थियो ।
प्रेमिकालाई नियम विपरीत सरकारी सुरक्षा उपलब्ध गराएको विषयले अहिले अमेरिकी प्रशासनभित्र र बाहिर आलोचना भइरहेको छ ।
यस घटनापछि पटेल आफ्नै समर्थक र अमेरिकी संसद्को निसानामा परेका छन् । ट्रम्पका लागि काम गर्ने प्रभावशाली व्यक्ति ग्रेस चोङले सामाजिक सञ्जालमा 'के विल्किन्स कासकी श्रीमती हुन् र ?' भन्दै प्रश्न गरेकी छन् । त्यस्तै, स्टिभ ब्याननले पनि एफबीआईको स्रोतसाधनको प्रयोगबारे शंका व्यक्त गरेका छन् ।
एफबीआईका पूर्व तथा वर्तमान अधिकारीहरूले पनि भीआईपी सुरक्षाका लागि स्वाट टिमको प्रयोगलाई 'अनौठो' र 'नियम विपरीत' भन्दै टिप्पणी गरेका छन् । स्वाट टिमलाई भीआईपी सुरक्षाको नभई 'ट्याक्टिकल' कारबाहीको तालिम दिइएको हुन्छ ।
न्युयोर्क टाइम्सबाट ।