काठमाडौं । विघटित प्रतिनिधिसभामा सबभन्दा ठूलो दल नेपाली कांग्रेसले आइतबार निर्वाचन आयोगमा राष्ट्रियसभा तथा प्रतिनिधिसभा चुनाव प्रयोजन निम्ति पार्टी दर्ता गरेको छ । पार्टी दर्तासँगै आधिकारिक उमेदवार तोक्न कसको हस्ताक्षर चल्ने भन्ने उल्लेख गर्नुपर्छ । कांग्रेसले सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्नेगरी आयोगमा पार्टी दर्ता गराएको छ ।
तर, यो विषयमा कांग्रेसभित्र विवाद सुरु भएको छ । कसको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा जाने भनी प्रश्न उठेपछि महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका छन् ।
“बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनें– होइन । साथीहरूले फेरि सोध्नुभयो— कसरी ?” संवाद शैलीमा महामन्त्री थापाले भनेका छन् ।
उनको भनाइमा, “मैले भनेँ– प्रस्ट छ । अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।”
महामन्त्री थापाले देउवा नेतृत्वमै चुनावमा नजानकै लागि आफूहरूले चुनावअघि नै महाधिवेशन माग गरिरहेको बताएका छन् । “अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ,” उनले भने ।
कांग्रेसको केन्द्रीय समितिको निर्णयसँग सम्बन्धित विज्ञप्तिमा भने निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता गर्ने भन्ने मात्र उल्लेख छ । त्यहाँ कसको हस्ताक्षर चल्ने भनी उल्लेख छैन ।
“यही वर्ष माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नेलगायतका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।”
तर, कांग्रेसको निर्णय र निर्वाचन आयोगमा बुझाएको पत्रमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा दलको आधिकारिक पत्राचार हुने उल्लेख छ ।
सभापति देउवालाई नै हस्ताक्षर गराएर आयोगमा पत्र बुझाइएको छ ।
“अहिले बाहिर आलोचना हुन्छ, त्यसैले सभापतिज्यूको हस्ताक्षर चल्ने भनेर उल्लेख नगरौँ,” महामन्त्री थापाले भनेका थिए, “प्रक्रिया–संगत ढंगले आयोगमा बुझाऔँ, विज्ञप्तिमा त्यो विषय नै नराखौँ ।”
स्रोतका अनुसार, निर्णयको ड्राफ्ट पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तयार पारेका हुन् ।
त्यसलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महतसहित बसेर अन्तिम रूप दिइएको थियो ।
“हामीले प्रक्रिया–संगत निर्णय गरेका हौँ, हाम्रा सभापति शेरबहादुर देउवा हुनुहुन्छ र उहाँकै हस्ताक्षर चल्ने गरी माइन्युट लेखेर आयोगमा बुझाएका हौँ,” प्रचार विभाग प्रमुख विश्वकर्माले बाह्रखरीसँग भने, “पछि विज्ञप्तिमा हस्ताक्षरको विषय नराखौँ भन्ने समझदारी भएपछि त्यहीअनुसार गरिएको हो ।”
उनले पार्टी सभापति जो हो, उसकै हस्ताक्षर चल्ने हुँदा कसको हस्ताक्षर चल्ने भन्ने बहसको विषय नै नभएको बताए । निर्णयमा महामन्त्रीद्वय थापा र शर्माको फरक मत थियो भन्ने प्रश्नमा महामन्त्री–निकट केन्द्रीय सदस्य मधु आचार्यले फरक मत नरहेको बताए ।
उनले विज्ञप्तिमा सार्वजनिक भएकै निर्णय केन्द्रीय समितिबाट पारित भएको भन्दै फरक मत लेख्नुपर्ने कारणसमेत नभएको उल्लेख गरे । केन्द्रीय सदस्यले पारित गरेको भन्दा अलग निर्णय लेखिएको वा निर्वाचन आयोगमा बुझाइएको भए त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।
“विज्ञप्तिमा जे सार्वजनिक भएको छ, त्यही निर्णय पढेर सुनाएपछि हामीले केन्द्रीय समितिमा पारित गरेका हौँ । त्यहाँ सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने भनेर खुलाइएको छैन,” आचार्यले बाह्रखरीसँग भने, “हामीले अनुमोदन गरेभन्दा बाहिर कुनै माइन्युट लेखिएको भए र निर्वाचन आयोगमा बुझाइएको भए हामी त्यसको स्वामित्व लिँदैनौँ ।”
कांग्रेसको केन्द्रीय समिति बैठकको सुरुवातदेखि नै निर्वाचनमा भाग लिने निर्णयका लागि संस्थापन पक्षले दबाब दिँदै आएको थियो । तर, चुनावअघि जसरी पनि महाधिवेशन गर्ने र नियमित नभए विशेष महाधिवेशन गर्ने अडानमा महामन्त्रीद्वय थापा र शर्मा थिए ।
तर, निर्वाचनको निर्णय गरेपछि महाधिवेशनको विषय छायामा पर्ने भन्दै एकैसाथ सबै निर्णय गर्ने अडान लिएर रोक्दै आएका थिए । यही विवादमा असोज २८ गते सुरु भएर कात्तिक २७ सम्म बसेको बैठक विनानिर्णय स्थगित भएको थियो ।
तर, मंसिर ७ भित्र राष्ट्रियसभा निर्वाचनका लागि आयोगमा दल दर्ता गरिसक्नुपर्ने दबाबमा मंसिर ६ गते (शनिबार) बसेको बैठकले निर्वाचनमा भाग लिने निर्णय गर्दै दल दर्तासम्बन्धी निर्णय गरेको हो ।
उक्त बैठकमा पनि पार्टी नियमित महाधिवेशनमा जाने वा विशेष महाधिवेशनमा जाने भन्ने विषयमा कुनै निर्णय गरिएको छैन । पार्टी निर्णय सार्वजनिक भएपछि महामन्त्री थापाले अब पार्टी विशेष महाधिवेशनमा जाने बताए ।
उनले यसअघि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको माग गर्दै आएका छन् । पार्टीको केन्द्रीय समिति बैठक मंसिर ११ गतेका लागि डाकिएको छ । नियमित वा विशेष महाधिवेशनमा जाने भन्ने निर्णय त्यही बैठकले गर्नेछ ।
यता, विशेष महाधिवेशन पक्षधरहरूले भने मंसिर १० गते राष्ट्रिय सभागृहमा दबाब भेला डाकेका छन् ।
