site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशका दुई विकल्प– पुसमा नियमित गर्ने वा देउवाले ‘सुवर्ण शमशेर पथ’ रोज्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनका लागि दुईवटा विकल्प अघि सारेका छन् । सोमबार जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएको कांग्रेस जिल्ला कार्यसमिति इलामको कार्यालय अवलोकनपछि कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री शर्माले समय घर्किंदै गए पनि महाधिवेशन सम्भव रहेको बताए ।

उनले सबै एकताबद्ध भएर जुटेमा महाधिवेशन सम्भव रहेको बताएका छन् । त्यसका लागि नियमित प्रक्रिया वा नेतृत्वले त्याग गर्ने ‘सुवर्ण शमशेर पथ’मध्ये एक रोज्नुपर्ने धारणा राखे ।

पहिलो विकल्पका रूपमा महामन्त्री शर्माले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने गरी तत्काल कार्यतालिका बनाउनुपर्ने बताएका छन् ।

“अबको बैठकबाट कार्यतालिका निर्माण गरेर पुस अन्तिम साता महाधिवेशन गर्न सकिन्छ,” शर्माले भने, “तयारीका क्रममा केही समय नपुग्ने अवस्था आए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्न सकिन्छ ।”

उनले शान्तिपूर्ण वातावरण र हिमाली क्षेत्रको मौसमी प्रतिकूलतालाई दृष्टिगत गर्दै राजनीतिक सहमतिमा निर्वाचनको मिति केही पर सार्न सकिने पनि बताए ।

“समानुपातिकको सूची बुझाउने मिति वा फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ,” उनले भने, “यसलाई राजनीतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ ।”

महामन्त्री शर्माले दोस्रो विकल्पका रूपमा पार्टी सभापति शेरबहादुर देउवाले ‘सुवर्ण शमशेर पथ’ पछ्याउँदै मार्गप्रशस्त गर्नुपर्ने बताए । विसं २०१४ सालमा सुवर्ण शमशेरले पार्टीको हितका लागि त्याग गरेजस्तै अहिलेको परिस्थितिमा सभापतिले अभिभावकीय भूमिका खेल्नुपर्ने उनको तर्क छ ।

“पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ,” शर्माले भने, “त्यो भनेको २०१४ सालमा झैँ स्वयं सभापतिले मार्गप्रशस्त गर्ने हो । यसले एकातिर पार्टीले निकास पाउँछ भने अर्कोतिर उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ ।”

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने दाबीसमेत गरे । सभापतिले मार्गप्रशस्त गरेमा ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन र ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिने शर्माको भनाइ छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्