site stats
बाह्रखरी :: Baahrakhari
कला
‘परान’को आक्रामक ग्रसकलेक्सन यथावत, वर्षकै धेरै कमाउने चलचित्र !

काठमाडौं । चलचित्र ‘परान’ले आक्रामक ग्रसकलेक्सनलाई कायम राखेको छ । परानले शनिबार रातिसम्म १४ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’ले मंसिर ६ गते रातिसम्म १४ करोड १६ लाख ५१ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ । 

यो चलचित्रमा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ । दीपक आचार्यको लेखन तथा निर्देशन छ । 


चलचित्र ‘जारी–२’ले पाँच करोड ५९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । कात्तिक २१ गते रिलिज भएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् ।  

चलचित्र ‘मन बिनाको धन’ले तीन करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्रलाई टंक बुढाथोकीले निर्देशन गरेका छन् । 

अनमोल केसीको मुख्य भूमिका रहेको ‘जेरी अन टप’ले १२ करोड १९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सुयोग गुरुङले निर्देशन गरेको चलचित्रमा अनमोलसँगै भूवन केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे मुख्य भूमिका छन् । 
 
अहिलेसम्मको ग्रसकलेक्सनको तथ्यांकले ‘परान’ यो वर्षकै सर्वाधिक ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’को ग्रसकलेक्सन रिपोर्टलाई पनि यो चलचित्रले पछि पारेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्