काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्कीले चुनाव भए/नभए पनि आफूहरूले अभियान चलाइरहने बताएका छन् । आइतबार (मंसिर ७) काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणासभामा उनले आफूहरूले पुँजीवाद त्याग्न खोजेको बताए ।
‘जेनजी’लाई उनले विचारसहितको राजनीतिमा आउन आग्रह गरे । विचार र ज्ञानले सशक्त बन्नुपर्नेमा उनले जोड दिए ।
“भदौ २३ र २४ गते त विद्रोह गर्नुभयो, तर तपाईं निरन्तर लडाइँ गर्न सक्नु हुन्न । विचारबिनाको राजनीति कुविचार हो,” उनले भने, “हामीले सद्विचार निर्माण गर्न खोजेका हौँ । तपाईंहरू विचार र ज्ञानले सशक्त बन्नुपर्छ ।”
समाज बनाउन हालको शिक्षा पद्धति, यातायात, कृषि, उद्योग नीतिलाई प्रतिस्थापन गर्न चाहेको उनले उल्लेख गरे ।
वैचारिक ‘हतियार’सहित पार्टीभित्रै बसेर आफूहरूमाथि निगरानी गर्न पनि उनले आग्रह गरे ।