site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दशौँ राष्ट्रिय खेलकुद अनिश्चितताबारे सामाजिक विकास समितिको चासो

सुर्खेत । कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे चासो राखेको छ । कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र मन्त्रालयका अधिकारीसँग उक्त प्रतियोगिता, स्वास्थ्य सेवा ऐन र अरू नीतिगत विषयमा आइतबार (मंसिर ७) छलफल गरिएको हो ।

दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी समितिको जिज्ञासामा मन्त्री भण्डारीले केन्द्रीय सरकारबाट प्रतियोगिता सञ्चालनको सुनिश्चितता अझै नआएको जानकारी गराए ।

सुर्खेतमा फागुन १ गते हुने गरी प्रतियोगिताको मिति तोकिए पनि त्यसपछिका आवश्यक समन्वय र तयारी मूल आयोजक पक्षबाट नदेखिएको मन्त्री भण्डारीले समितिसमक्ष बताए । यद्यपि, प्रदेश सरकार आफ्ना तर्फबाट तयारी अवस्थामा रहेको उनले उल्लेख गरे ।

समितिले कर्णाली प्रदेश खेलकुद विकास ऐन संशोधनका निम्ति सरकारको ध्यानाकर्षण गराएको छ । मन्त्रालयका अनुसार, संशोधन विधेयकको ड्राफ्ट तयार भइसकेको र आउँदो प्रदेशसभा अधिवेशनमा पेस गर्ने तयारी छ ।

समितिका सभापति पूर्णबहादुर खत्रीले कर्णालीमा शिक्षण अस्पताल निर्माणबारे जानकारी माग गरिएको बताए ।

नीति नियम निर्माण तथा कार्यान्वयनमा मन्त्रालयको तदारुकता नदेखिएको भन्दै समितिले असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्