काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले 'जेनजी' विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।
आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले 'जेनजी' विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरूका कारणले भएको जिकिर गरे ।
"आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ?" किराँतीको प्रश्न छ । २० वर्षदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको उनले बताए ।
यस्तो छ किराँतीको भनाइ :
उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ? न्युज एजेन्सी नेपाल