site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखरलाई संस्थापनका २८ केन्द्रीय सदस्यले भने– नियमित महाधिवेशनबाट नेतृत्व लिनुस्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनपक्षका २८ केन्द्रीय सदस्यले पार्टीको नेतृत्व लिन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् ।

आइतबार (मंसिर ७) बिहान काठमाडौंको विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा भेट्न पुगेका केन्द्रीय सदस्यसँग उनले झन्डै दुई घण्टा संवाद गरेका थिए । त्यसक्रममा उनीहरूले विशेष महाधिवेशनले पार्टीलाई निकास नदिने बताएका थिए । नियमित महाधिवेशनमा पार्टीलाई प्रवेश गराउँदै नेतृत्व लिन कोइरालालाई उनीहरूले आग्रह गरे ।

जवाफमा कोइरालाले आफू दुइ वर्षदेखि समयमै नियमित महाधिवेशनको पक्षमा उभिएको बताए । अझै पनि आफू नियमित महाधिवेशनकै पक्षमा लागिरहेको उनले जवाफ फर्काए ।

“तपाईं सभापतिमा शेरबहादुर देउवालाई दोस्रो चरणसमम लगेर टक्कर दिएको नेता हो । अब नियमित महाधिवेशनमा लगेर पार्टीको नेतृत्व लिनुहोस्,” भेटमा भएको कुराकानीबारे केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले बाह्रखरीसँग भने, “उहाँले नियमित महाधिवेशनमा जानुपर्ने विषयमा र अबको नेतृत्व लिने विषयमा प्रस्ट तयारीमा रहेको बताउनुभयो ।”

कोइरालाले कार्यवाहक सभापति र दुई महामन्त्रीले आफूले भनेको मात्र लागु गर्ने र सहमतिको दायर फराकिलो नबनाउँदा निकास निस्कन नसकेको धारणा राखेका पनि उनले बताए ।

“छलफलमा कार्यवाहक सभापति र दुई महामन्त्री मात्र बस्नुहुन्छ, उहाँहरू आफ्ना रणनीति बनाउनुहुन्छ कि सहमतिको लागि निकास खोज्नुहुन्छ ?,” डा. कोइरालाको प्रश्न उद्धृत गर्दै श्रेष्ठले भने, “उहाँहरू फरक मत राखिरहेकाहरूलाई पनि राख्नु हुन्न, सहमहामन्त्रीहरूलाई पनि बैठकमा राखिराख्नुभएको छैन ।”

उनले निकासको बाटो खोज्ने भए असहमति राख्नेहरूलाई सहमत गराउनुपर्नेमा जोड दिएका थिए । “अहिले विशेष महाधिवेशनमा जानुभन्दा उत्तम विकल्प नियमित महाधिवेशन हो भनेर मैले भनिरहेको छु । अहिले महाधिवेशनमै जानु हुँदैन भन्ने सिटौला, निधिजीसहितको समूहले भनिरहेको छ, जानु हुँदैन भनिरहेकाहरूलाई जान सहमत गराउन वार्ता बढाउनुपर्ने होइन ?,” प्रश्न गर्दै कोइरालाले भनेका थिए, “कार्यवाहक सभापतिजी त नियमित महाधिवेशनका लागि सहमत नै हुनुहुन्छ नि ! त्यही भन्ने महामन्त्रीजीहरूसँग बारम्बार वार्ता गरेर के निकास निकाल्ने हो ?”

उनले कार्यवाहक सभापति र महामन्त्रीद्वयले सभापति देउवा फर्किसकेकाले उनीसँगै वार्ता गर्नुपर्ने बताए । असहमत नेताहरूसहित छलफल राख्न सभापतिलाई आग्रह गर्नुपर्नेमा त्यसो नभइरहेको उनले टिप्पणी गरेका थिए ।

“मैले बाहिर सुनिरहेको छु, सभापति शेरबहादुर देउवाजीलाई अलग राखेर कांग्रेसको अहिलेको निकास निस्कँदैन भन्ने, यदि त्यसो हो भने उहाँसँगै बसेर निकास निकाल्नुपर्‍यो नि !,” कोइरालाले भनेका थिए, “पार्टीभित्रै कोहीसँग बस्ने कोहीसँग नबस्ने गरेर निकास निस्कँदैन । हामीले कसैलाई पनि निषेध गरेर पार्टी बलियो बनाउन सकिँदैन ।”

उनले प्रक्रियागत हिसाबले तत्काल निर्णय गरेर कार्यतालिका ल्याए आउँदो पुसभित्रै नियमित महाधिवेशन सम्भव रहेको बताएका थिए । सभापति देउवाको सम्मान पनि नियमित महाधिवेशनबाट बिदा हुँदा बढी रहने उनले उल्लेख गरे ।

“नियमित महाधिवेशन नै निकास हो र पार्टी लागिपर्दा सम्भव छ भन्ने विषयमा उहाँहरू कन्भिन्स देखिनुभयो,” भेटमा सहभागी कोइरालानिकट केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले भने, “यदि, नियमित महाधिवेशन भएन भने पनि केन्द्रीय समितिले नै कार्यविधि बनाउनुपर्छ, केन्द्रीय समिति नै आयोजक बनेर अधिवेशन गर्नुपर्ने हुन्छ भन्ने धारणा डा. शेखरको थियो ।”

उनले हस्ताक्षरकर्ताको भेलालाई विशेष महाधिवेशन मान्ने बहसले पार्टीलाई फुटमा पुर्‍याउने बताएका थिए । “त्यस्तो हुन दिने पक्षमा म छैन । हस्ताक्षरकर्ताले हस्ताक्षर गरेर बुझाएपछि उनीहरूलाई विश्वासमा लिन केन्द्रीय समितिले नै सक्नुपर्ने हुन्छ । शनिबार नियमितको कार्यतालिका नआउने एउटा कारण यो पनि हो जस्तो लाग्छ,” कोइरालाले भनेका थिए, “त्यसैले हस्ताक्षरकर्तालाई विश्वासमा लिएपछि कार्यतालिका लागु हुन्छ । अधिवेशन तोकिएको मितिबाट हप्ता/दश दिन तलमाथि हुँदा फरक पर्दैन ।” 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्