site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूस–युक्रेन युद्ध : दोहोरो चुनौतीको सामना गर्दै जेलेन्स्की

काठमाडौं । रूसविरुद्धको लगभग चार वर्ष लामो युद्धको बीचमा युक्रेन अहिले आफ्नो सबैभन्दा कठिन मोडमा पुगेको छ । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राष्ट्रिय सम्बोधनमा देशको गरिमासँग सम्झौता गर्नुपर्ने वा आफ्नो सबैभन्दा बलियो साझेदार अमेरिकालाई गुमाउने जोखिम लिनुपर्ने अवस्था आएको संकेत गरेका छन् । 

अमेरिकी शान्ति प्रस्तावले युक्रेनमा ठूलो दबाब सिर्जना गरेको र जेलेन्स्कीले यसलाई देशको इतिहासका सबैभन्दा चुनौतीपूर्ण अवधिहरूमध्ये एकका रूपमा व्याख्या गरेको समाचार संस्था एपीले जनाएको छ ।

अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनाले युक्रेनका लागि धेरै कठिन सर्तहरू ल्याएको बताइएको छ । सो योजनामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका पुराना धेरै मागहरू समावेश गरिएका छन्, जसअनुसार युक्रेनले केही क्षेत्रहरू रूसलाई सुम्पिनुपर्नेछ । 
 
योजनाले युक्रेनी सेनाको आकार घटाउनुपर्ने, युक्रेनको नेटो सदस्यताको बाटो पनि रोक्ने भनिएको छ । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदामा रहेको उक्त योजनामाथि जेलेन्स्कीले बिहीबारसम्म प्रतिक्रिया दिन आग्रह गरेका छन् । तर, समयसीमा बढाउन सकिने सम्भावना भने खुला राखिएको बताइएको छ ।

जेलेन्स्कीले अमेरिकालाई रिसाउन दिनु युक्रेनका लागि गम्भीर रणनीतिक जोखिम हुनसक्ने संकेत गरेको एपीले समाचारमा उल्लेख गरेको छ । 

उनले युक्रेनले सम्भवतः सबै कुरा प्राप्त गर्न नसक्ने र केही सम्झौताका लागि तयार हुनुपर्ने अवस्था रहेको स्वीकार गरेको बताइएको छ । तर, उनको सरकारले शान्त रहँदै अमेरिका र अन्य साझेदारहरूसँग संवाद जारी राख्ने र युक्रेनको राष्ट्रिय हितलाई प्राथमिकता दिने बताए ।

सम्बोधनमा जेलेन्स्कीले युक्रेनीहरूलाई एकअर्काविरुद्ध संघर्ष रोक्न आह्वान गरेको बताइएको छ । यो भनाइमा देशमा भर्खरै खुलासा भएको ठूलो भ्रष्टाचार घोटालासँग जोडेर हेरिएको छ, जसले सरकारमाथिको आलोचना बढाएको छ । 
राष्ट्रपतिले आउने हप्ताहरूमा हुने शान्ति वार्ता अत्यन्त कठिन हुने र देशले एकजुट रहनुपर्ने धारणा राखेकोे विश्लेषण गरिएका छन् ।

युरोपको चेतावनी र युक्रेनको सीमा
अमेरिकी प्रस्तावले युरोपेली देशहरूलाई आश्चर्यमा पारेको बताइए पनि उनीहरूले सावधानीपूर्वक शब्द चयन गर्दै युक्रेनप्रतिको आफ्नो समर्थन दोहोर्‍याएका छन् । 
 
शुक्रबार जेलेन्स्कीले जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग टेलिफोन वार्ता गरेका थिउ । उनीहरूले आफ्नो समर्थन अटल र पूर्ण रहने आश्वासन दिएको बताइएको छ । युरोपेली नेताहरूले अमेरिकी पहलको प्रशंसा गर्दै कुनै पनि सम्झौताका आधारहरू हालका युद्ध रेखा तथा युक्रेनको संप्रभुताको संरक्षणमा आधारित हुनुपर्ने धारणा राखेको बताइएको छ ।

युरोपेली देशहरूले युक्रेनले आफ्नो सैन्य क्षमता कायम राख्नुपर्ने स्पष्ट पारेको बताइएको छ, जसले आफ्नो संप्रभुताको रक्षा गर्न सकोस् । 

बेलायती प्रधानमन्त्री स्टार्मरले युक्रेनको भविष्यका निर्णयहरू स्वयं युक्रेनले गर्ने र उसले आफ्नै शर्तमा शान्ति खोज्ने मत व्यक्त गरेको उल्लेख गरिएको छ ।
 
युरोपेली संघको यो प्रतिक्रियाले अमेरिकालाई नचिढ्याउने तर युक्रेनलाई कमजोर देखिन नदिने सन्तुलित धारणा देखाएको विश्लेषण गरिएको छ । 

घटनाक्रमले युक्रेनका कूटनीतिक चुनौतीहरू झनै गहिरो बनाएको छ । एकातिर रूसी दबाब र अर्कोतिर अमेरिकी शर्तहरूको बीचमा युक्रेनले यस्तो निर्णय लिनुपर्नेछ, जसले यसको अस्तित्वको लडाइँलाई आगामी वर्षहरूमा प्रभाव पार्नसक्नेछ ।
 
जेलेन्स्कीले न्यायोचित समाधानका लागि प्रयास जारी राख्ने भनाइ राखेको पनि उनले युक्रेनले आफ्नो गरिमा गुमाएर कुनै सम्झौता नगर्ने स्पष्ट संकेत दिएका छन् । आउने दिनहरूमा हुने वार्ताले युक्रेन मात्र नभएर सम्पूर्ण युरोपेली सुरक्षा संरचनाको भविष्य निर्धारण गर्नसक्ने बताइएको छ । एपीबाट ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्