काठमाडौं । वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा यतिखेर उथलपुथल देखिएको छ । पार्टीका चर्चित र प्रभावशाली नेताहरूले एकपछि अर्को गर्दै साथ छाड्न थालेपछि रास्वपामा ‘पहिरो’ जान थालेको विश्लेषण हुन थालेको छ ।
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको केही दिन नबित्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी छाडे । परियार ‘लोकतान्त्रिक प्रगतिशील पार्टी’ निर्माणको अभियानमा जुटिसकेका छन् ।
परियारको बहिर्गमनलाई रास्वपाले भने ‘व्यक्तिगत स्वार्थ’सँग जोडेको छ । रास्वपाका सहप्रवक्ता रमेश प्रसाईंले परियारले आगामी निर्वाचनमा समानुपातिक सिट सुरक्षित गर्नका लागि दल परिवर्तन गरेको आरोप लगाए ।
“जसले व्यक्तिगत हितलाई प्राथमिकतामा राख्छ, उसले बहाना बनाउँछ । प्रमुख सचेतकजस्तो जिम्मेवार पदमा रहेका र पार्टी सभापतिले असाध्यै विश्वास गरेका सन्तोष परियारलाई पार्टीभित्र असहज महसुस हुनुपर्ने कुनै कारण थिएन,” बाह्रखरीसँग सहप्रवक्ता प्रसाईंले भने ।
उनले अगाडि प्रश्न गरे, “हिजो प्रमुख सचेतक हुँदा मिल्ने विचार प्रतिनिधिसभा विघटन हुनासाथ कसरी नमिल्ने भयो ?”
प्रसाईंका अनुसार, राजीनामा दिनुअघि परियारको कार्यवाहक सभापति डीपी अर्यालसँग चुनावी रणनीति बनाउने विषयमा भेट्ने तय भएको थियो । तर, उनले त्यसअघि नै पार्टी छाड्ने ‘रणनीति’ बनाए ।
“प्रत्यक्ष निर्वाचित हुन गाह्रो देखेपछि फेरि पनि समानुपातिक सिट सुरक्षित गर्न उहाँले दल परिवर्तन गर्नुभएको हो,” प्रसाईंले दाबी गरे ।
यता, नयाँ दलको अभियानमा लागेका परियार भने रास्वपामा पछिल्लो समय आफूलाई ‘शून्य’ महसुस गरेकाले अलग हुनुपरेको तर्क गर्छन् ।
“मैले राजनीतिको माध्यमबाट सबै वर्ग, जाति र समुदायको मुद्दा उठाउन सकिन्छ भनेर प्रयास गरेँ । तर, त्यो वातावरण नबनेपछि बाध्य भएर पार्टी त्यागेको हुँ,” परियारले भने ।
रास्वपाले स्पष्ट वैचारिक आधार बनाउन नसकेको र पार्टी संरचनाले आधुनिक राजनीतिक चेतनालाई समेट्न नसकेको उनको आरोप छ ।
रास्वपाले सुमना श्रेष्ठको राजीनामा भने अपेक्षित रहेको बताएको छ । सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठसँग पार्टीको वैचारिक विमति रहेको प्रसाईं बताउँछन् ।
“पार्टी व्यक्तिकेन्द्रित (सभापति रवि लामिछाने) हुनुहुँदैन भन्ने उहाँको तर्क थियो । उहाँले ‘सभापतिको मुद्दा व्यक्तिगत हो, आफैँ लड्नुपर्छ’ भन्ने मत राख्नुभयो, जसमा पार्टी सहमत हुन सकेन,” प्रसाईंले भने, “उहाँको बहिर्गमन तार्किक अनमेलका कारण भएको हो, तर सन्तोषजीले भने सरप्राइज दिनुभयो ।”
नेताहरूले पार्टी छाड्ने क्रम चलिरहँदा रास्वपाले भने आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारेको छ । पार्टीले आफ्ना पुराना उमेदवारहरूसँग छलफल गरेको छ । ०७९ सालमा चुनाव लडेका उमेदवारहरूको राय लिएर अघि बढ्ने नीति रास्वपाले लिएको छ ।
