site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय सदस्यसँग देउवा, खड्का र गगन–विश्वले के के भने ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक विवादमा अल्झिँदा एक महिनाको अवधिमा १३ दिनसम्म बसेर स्थगित भएको बैठक अझै बस्न सकेको छैन । कात्तिक २७ गते बोल्ने क्रम सकिएपछि बिनानिर्णय स्थगित भएको बैठक हालसम्म तीनपटक स्थगित भइसकेको छ । 

नियमित महाधिवेशन पुस की वैशाखमा भन्ने 'झगडा'मा अल्झिँदा कांग्रेस निर्णयमा पुग्न सकेको छैन । शनिबार (भोलि) दिउँसो १ बजेका लागि बैठक डाकिएको छ । तर, नेताहरूबीच आन्तरिक विषयमा सहमति नहुँदा बैठक स्थगित हुने चिन्ता केन्द्रीय समितिमा छ । 

यसक्रममा कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन नै गर्नुपर्ने र प्रक्रिया तत्काल थाल्नुपर्ने भन्दै अभियान सुरु गरेका छन् । अभियानले बिहीबार सभापति शेरबहादुर देउवालाई भेट्यो । देउवाले आफू पार्टीको नेतृत्वमा बस्न लालायित नभएको बताएका थिए । मिलेर जाओस् भन्ने सदभाव मात्र रहेको भन्दै कार्यवाहक सभापतिमार्फत पार्टीलाई सहमतिमा अघि बढाउन दबाब दिन आग्रह गरेका थिए । 

देउवासँगको भेटमा सहभागीमध्येका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बाह्रखरीसँग भने, “सभापतिज्यूले आफू नेतृत्वमा नबस्ने, कार्यवाहक दिएर पार्टी मिलाएर लैजान जिम्मा दिइसकेको र मिलाएर लैजानुपर्छ भन्ने सुझाव उहाँलाई नै दिनुहोस् भन्नुभयो ।” 

उनले सभापति देउवामा पार्टी विवादमा अल्झिएको विषयमा भने चिन्ता देखिएको बताए । देउवासँग भेटका निम्ति कँडेलसहित पुष्पा भुसाल, उदयशमशेर राणा, राजेन्द्र केसीसहितका केन्द्रीय सदस्यहरू निवासमा पुगेका थिए । 

शुक्रबार बिहान केन्द्रीय सदस्यहरूको टोलीले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवासमै पुगेर भेटेको हो । खड्कालाई भेट्दा भने १८ केन्द्रीय सदस्यहरू सहभागी थिए । भेटमा उनीहरूले पार्टीलाई बन्धक बन्न नदिन तत्काल क्रियाशील सदस्यता टुंग्याएर १५औँ महाधिवेशनको प्रक्रियामा पुग्न आग्रह गरेका थिए । 

त्यसक्रममा कार्यवाहक सभापति खड्काले केन्द्रीय सदस्यहरूको समूहले उठाएका विषय मध्यमार्गी र समाधान केन्द्रित भए पनि समूह बनाएर हिँड्दा सकारात्मक सन्देश नगएको बताएका थिए । “तपाईंहरूले उठाएका विषय सकारात्मक छन् । यिनै विषयमा तपाईंहरूले केन्द्रीय समितिमा बोलिसक्नुभएको थियो,” खड्काको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले बाह्रखरीसँग भने, “तपाईंहरूले सल्लाहसमेत नगरी समूह बनाउँदा यसै धु्रवीकरणको जोखिममा रहेको पार्टीमा राम्रो सन्देश गएको छैन ।” 

त्यसपछि उनीहरूले सभापतिको आग्रह अनुरुप नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका थिए । भेटमा उनीहरूले विशेष महाधिवेशन माग गर्नेहरूलाई विश्वासमा लिन र वैशाखमा भन्नेहरूलाई पनि सहभागी गराउन नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गराउन आग्रह गरेका थिए । जवाफमा महामन्त्रीद्वयले नियमित महाधिवेशन नै आफूहरूको पनि प्राथमिकता रहेको भन्दै नियमित नभए विशेष महाधिवेशन बाध्यता हुने बताएका थिए । उनीहरूले जुनसुकै प्रकारको भए पनि महाधिवेशन नगरी चुनावमा जाँदा पार्टीलाई क्षति हुने बताएका थिए । 

“महाधिवेशन नगर्ने हो भने कसको नेतृत्वमा निर्वाचनमा जाने ? सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएर जानुभएको छ । कि त उहाँलाई नै आइदिनुस् भन्नुपर्ने भयो । होइन भने कसको नेतृत्वमा चुनावमा जाने ?,” महामन्त्रीको भनाइ उद्धृत गर्दै कँडेलले बाह्रखरीसँग भने, “त्यसैले निर्वाचनअघि महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जानुपर्छ भन्ने उहाँहरूको भनाइ थियो ।”

केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयसँग नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरेपछि निर्वाचनका कार्यतालिका प्रभावित हुने अवस्था भए महाधिवेशन स्थगित गरेर चुनाव केन्द्रित हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए । त्यसमा सकारात्मक प्रतिक्रिया आएको कँडेलले जानकारी दिए । “त्यस्तो परिस्थिति बन्यो भने समयानुकूल निर्णय त्यसबेलै गर्नुपर्ने हुन्छ भन्नेमा उहाँहरू सकारात्मक हुनुहुन्छ,” कँडेलले भने । 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्