काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रियसभाको अधिवेशन आह्वान हुने बताएका छन् ।
बिहीबार निर्माणाधीन संसद भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताए । आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।
नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको उनको भनाइ छ । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको उनले बताए । आगामी प्रतिनिधिसभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै उनले राष्ट्रियसभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको बताए ।
"यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रियसभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम सुरु गर्ने गरी तयारी थालेका छौँ । प्रतिनिधिसभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो," दाहालले भने, "केही प्रगति भएको अनुभूति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधिसभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’ न्युज एजेन्सी नेपाल