site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
योगेश भट्टराईले भने– मधेसमा एमाले एक्लियो, कसले खेलबाड गर्‍यो ?
योगेश भट्टराई । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले मधेस प्रदेशमा आफ्नो पार्टीलाई ठूलो धक्का लागेको बताएका छन् । मधेसमा एमाले एक्लिएको उनले टिप्पणी गरेका हुन् ।

बिहीबार (मंसिर ४) बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले हालै मधेस प्रदेश प्रमुख बर्खास्त, सभामुख पदमुक्तजस्ता घटनाले एमालेलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

“आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा (एमाले)लाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्,” उनले लखेका छन्, “प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि, यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) ।”

उनले मुख्यमन्त्री सरोजकुमार यादवको पद पनि धरापमा रहेको जनाएका छन् । उनले उल्लेख गरेका यी तीनै पद एमालेले पाएको थियो ।

“राजनीतिक रूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ,” उनले लेखेका छन्, “यो सबै किन र कसका कारणले भयो ?”

उनले मधेसमा एमाले ठूलो पार्टी बनेको, विगतमा गरिएको पार्टीको विरोधलगायत घटना पनि स्मरण गरेका छन् । यी सबै विषयको समीक्षा गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

“मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलबाड़ गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ,” उनले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, “सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।”

बुधबार (मंसिर ३) मात्र बाराको सिमरामा एमाले कार्यकर्ता र ‘जेनजी’बीच झडप भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्