site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ पुस्ता र भिजन भएकाको हातमा देश जाओस् भन्ने चाहना हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको नेतृत्व अब नयाँ पुस्ता र भिजन भएका व्यक्तिको हातमा जानुपर्नेमा जोड दिएकी छन् ।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको मुख्य उद्देश्य नै निष्पक्ष निर्वाचन गराउनु रहेको स्पष्ट पारिन् ।

"हामी निर्वाचन गराउनै आएका हौँ," उनले भनिन्, "हामी चाहन्छौँ यो देश नयाँ पुस्ताको हातमा जाओस्, केही भिजन भएको मान्छेले यो देश सम्हालिदेओस् ।"

प्रधानमन्त्री कार्कीले हिजोको नेतृत्वलाई आफूले पूर्णरूपमा गलत नभनेको तर निर्वाचन प्रणालीमा भने सुधारको खाँचो रहेको औँल्याइन् । "हिजोका सबै भ्रष्टाचारी र फटाहा हुन् भन्न खोजेको होइन," उनले स्पष्ट पारिन् ।

उनले अबको निर्वाचन धनबलको भरमा नभई जनबलको भरमा हुनुपर्नेमा जोड दिइन् । "अब निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा उमेदवार चयन हुन सकोस्," उनले भनिन्, "कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ ।"

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्