site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको उल्लेख गरे । 

"तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ," उनले भने । 

उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताए । निर्वाचनको लागि सरकारले १२३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । 

निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रियसभाका सदस्यहरूलाई समेत आग्रह गरे । उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रियसभा र संसदीय समितिहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

"सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाइरहेका छौँ । म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हाम्रा अगाडि । यो बाटोमा अगाडि बढाउने कुराहरूमा माननीयज्यूहरूको, सभापतिको महत्त्वपूर्ण भूमिका हुन्छ," उनले भने ।  

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई अगाडि बढाइरहेको जानकारी दिए । न्युज एजेन्सी नेपाल 

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्