काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई डाकेर भेटवार्ता गरेकी छन् । विशेष महाधिवेशनका निम्ति हस्ताक्षर र भेलाको संयोजन गरिरहेका नेता गुरुराज घिमिरेसहितलाई डाकेर मंगलबार (मंसिर २) उनले बालुवाटारमा भेटवार्ता गरेकी हुन् । करिब दुई घण्टा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयकै तर्फबाट निमन्त्रणा गरेर भेटवार्ता भएको नेता घिमिरेले बताए । “प्रधानमन्त्रीको सचिवालयबाटै निमन्त्रणा भएर हामी भेटका लागि पुगेका हौँ,” घिमिरेले बाह्रखरीसँग भने, “फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि माहोल बनाउने र त्यसलाई कसरी सहज र सम्भव बनाउने भन्नेमा उहाँको चासो थियो ।”
घिमिरेले फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा सदस्य निर्वाचन जसरी पनि गराउने तयारीमा प्रधानमन्त्री कार्की लागिरहेको बताए । मौसमी कारणले प्रभावित हुने अवस्थामा तराई, पहाड र हिमालमा केही हप्ताको अन्तरालमा चुनाव हुन सक्ने संकेत प्रधानमन्त्रीले गरेको उनले जानकारी दिए ।
“अब सरकारले मात्र तयारी गरेर पुग्दैन, पार्टीहरूले पनि तयारी गर्नुपर्यो र चुनावको माहोल निर्माण गर्न संयुक्त काम गर्नुपर्यो भन्ने उहाँको आग्रह छ,” घिमिरेले भने, “त्यसमा हामीले पनि ‘गो अहेड’ भनेका छौँ ।”
कांग्रेस केन्द्रीय कार्यसमितिमा समेत नरहेका विशेष महाधिवेशन अभियन्तालाई किन डाकियो र के कुराकानी भयो भन्ने प्रश्नमा उनले छलफलमा पार्टीको आन्तरिक मामिलामा प्रवेश नै नगरिएको जिकिर गरे ।
“पार्टीको विशेष वा नियमित महाधिवेशनबारे उहाँसँगको भेटमा विषय प्रवेश गर्ने कुरा भएन,” घिमिरेले भने, “उहाँले पार्टीभित्र दबाब अभियान चलिरहेका बेला त्यो अभियानमा निर्वाचन पनि परोस् भन्ने आशय राख्नुभएको हुनसक्छ ।”
आफूलाई निमन्त्रणा गर्दा टिमसहित भेट्न पुगेको उनले जानकारी दिए । “केही दिनअघि पनि निमन्त्रणा भएको थियो । म बाहिर भएका कारण भेट सम्भव भएन,” उनले भने, “उहाँहरू र हामी त विराटनगरमा लामो चिनजान हो । त्यस हिसाबले पनि उहाँले भेट्न खोज्नुभएको हो । मैले व्यक्तिगत काम केही पनि नभएको हुँदा टिमसहित भेटवार्ता गरेको हुँ ।”