काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजाका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे योजनालाई स्वीकृति दिएको छ । यो योजनाअन्तर्गत गाजामा एक अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आईएसएफ)को स्थापना गरिनेछ ।
धेरै देशले आईएसएफमा सुरक्षाफौज योगदान गर्न इच्छा व्यक्त गरेका अमेरिकाले जनाएको छ । यूके, फ्रान्स, सोमालियासहित १३ देशले यो प्रस्तावको समर्थन गरेका थिए । सुरक्षा परिषद्मा कुनै पनि देशले यसको विपक्षमा मतदान गरेनन् । रुस र चीनले मतदानमा भाग लिएनन् ।
हमासले यो प्रस्ताव अस्वीकार गरेको छ । यसले प्यालेस्टाइनीको अधिकार र माग पूरा गर्न नसक्ने हमासले जनाएको छ ।
हमासले टेलिग्राममा लेखेको छ, “यो योजनाले गाजापट्टीमा एक अन्तर्राष्ट्रिय संरक्षकत्व प्रणाली थोपर्छ, जसलाई हाम्रा जनता र हमासका गुटले अस्वीकार गर्छन् ।”
हमासले अगाडि भनेको छ, “गाजापट्टीभित्र प्रतिरोधी समूहबाट हतियार हटाउने भूमिकासहितको जिम्मेवारी अन्तर्राष्ट्रिय बललाई दिइएकोले यसको तटस्थता हराउँछ र यो कब्जाको पक्षमा उभिने एक पक्षमा परिणत हुन्छ ।”
आईएसएफलाई उक्त क्षेत्रको सुरक्षा, गाजाको सैन्यीकरण अन्त्यमा सहयोग गर्ने, आतंकवादी पूर्वाधार भत्काउने, हतियार हटाउने र प्यालेस्टाइनी नागरिकको सुरक्षा सुनिश्चितको जिम्मेवारी दिइनेछ ।