काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा संस्थापन पक्षबाट निर्वाचित भएका २४ केन्द्रीय सदस्यले कात्तिक २६ गते पार्टी कार्यालयमा एउटा ज्ञापनपत्र बुझाए ।
जहाँ पार्टीलाई नियमित महाधिवेशनमा प्रवेश गराउन माग गरी उनीहरूले मङ्सिरभित्रै सुरू गरी तहगत रूपमा महाधिवेशन सक्नुपर्ने माग गरिएको छ ।
महाधिवेशन निम्ति क्रियाशील सदस्यता टुंग्याइनुपर्छ । त्यसअतिरिक्त निर्वाचन समितिलाई पूर्णता दिनुपर्ने, युवा प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने, संविधान संशोधनका विषयमा तल्लो तहबाटै बहस थाल्नुपर्ने माग उनीहरूको छ ।
संस्थापन पक्षका २४ केन्द्रीय सदस्यका मागसँगै त्यसका व्याख्या भने फरक–फरक ढङ्गले हुँदै छ ।
केन्द्रीय सदस्यको समूहले संस्थापन छाडेको, महामन्त्री गगन थापा समूहमा लागेको, चुनावअघि महाधिवेशन गर्न प्रस्ताव गरेर संस्थापनलाई चुनौती गरेकोसहितका टिप्पणी हुँदै छ ।
त्यस्ता टिप्पणीबाट स्वयम् समूहमा उभिएकाहरू भने हैरान छन् । “पार्टी विशेष महाधिवेशन र नियमित भनेर विभाजनमा गयो । पार्टीको मतविभाजन गर्ने समय थिएन यो,” हस्ताक्षरकर्तामध्येकी केन्द्रीय सदस्य पुष्पा भुसालले बाह्रखरीसँग भनिन् ।
उनले थप स्पष्ट पार्दै भनिन्, “यस्तो बेला विभाजित बहसमा अल्झिनुभन्दा पार्टीलाई महाधिवेशन प्रक्रियामा अघि बढाऊँ, कम्तीमा प्रक्रिया थालौँ, विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई नियमित महाधिवेशनमा प्रवेश गराऊँ भनेर हामीले मध्यमार्गी अभियान थालेका हौं ।”
आफ्नो अभियानलाई संस्थापन छाडेकोदेखि अरु नेतासँग जोडेकामा रुष्ट छन् । “हामी केन्द्रीय सदस्यहरूको स्वतन्त्र विवेक हुँदैन ? पार्टीलाई निकास दिउँ भनेर विचार मिल्नेहरू एक ठाउँमा उभिन पाउँदैनन् ?” प्रश्न गर्दै भुसालले भनिन् ।
उनका अनुसार, महामन्त्री र सहमहामन्त्रीका दुईवटा कार्यतालिकाको विवादमा समाधान दिने प्रयास आफूहरुको छ ।
“महामन्त्रीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनपछि महाधिवेशनमा जाने कार्यतालिका प्रस्तुत गर्नुभएको छ । हामीले मङ्सिरभित्र अधिवेशन थालेर तहगत रूपमा महाधिवेशन सम्पन्न गर्ने भनेका छौँ,” उनले भनिन् ।
यसको अर्थ चुनावअघि महाधिवेशन सम्पन्न गर्ने भन्ने हुँदैन ? उनले मागमै स्पष्ट भनिएकाले त्यसरी फरक अर्थ लगाउनुपर्ने आवश्यकता नरहेको बताइन् ।
ज्ञापनपत्रको दोस्रो बुँदामा भनिएको छ, “आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा महाधिवेशन सक्न कार्यतालिका बनाई लागू गर्ने ।”
भुसालले चुनावअघि सम्पन्न गर्ने भनेर नलेखिएको तर्क गरिन् । “फागुन २१ का लागि घोषणा भएको चुनाव हुँदैन वा सर्छ भनी परिकल्पना गर्नु ठीक हुँदैन,” भुसालले भनिन्, “त्यसका लागि कांग्रेसको महाधिवेशन प्रारम्भ गरी कम्तीमा वडा अधिवेशन सकियो भने निर्वाचन हाँक्ने जिम्मेवारी लिने १७ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् ।”
त्यसबाहेक अन्य तहमा अधिवेशन सकेमा राम्रो हुने भन्दै वडाको सम्पन्न हुँदा पनि पार्टीलाई फाइदा पुग्ने उनले तर्क गरिन् ।
ज्ञापनपत्र बुझाउनेमध्येका अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पार्टी दुई धारमा हिँडिरहेका बेला आफूहरूले मध्यमार्ग प्रस्तुत गरेको भन्दै त्यसलाई समूह छाडेको, नयाँ समूह रोजेको भनेर अर्थ लगाउनु उचित नहुने बताउँछन् ।
“देश जटिल अवस्थामा छ । यस्तो बेला कांग्रेस जस्तो जिम्मेवार पार्टी आन्तरिक विषयमा अल्झिएर बस्ने छूट छैन,” कँडेलले बाह्रखरीसँग भने, “त्यसैले महाधिवेशनको प्रक्रियामा प्रवेश गरौँ । राष्ट्रिय चुनावको तयारीमा जुटौँ भनेर हामीले प्रस्ताव गरेका हौँ ।”
उनले कुनै नेता मान्ने वा संस्थापन वा संस्थापनइतर भनेर समूह नबनाएको बताए ।
यो समूह खडा हुँदा विशेष महाधिवेशन भन्नेदेखि मङ्सिरभित्रै महाधिवेशन नभए विद्रोहमा जानुपर्छ भन्नेसम्म सामेल थिए ।
सुरुमा राजन केसीको सोल्टीमोडस्थित निवास नजिक भेला हुँदा त्यस्तो उग्र सोच राख्नेहरू पनि विस्तारै मध्यमार्गमा आइपुगेको एक केन्द्रीय सदस्य बताउँछन् । उक्त भेलामा सुरुमा केन्द्रीय सदस्य रमेश रिजाल पनि सहभागी थिए । तर उनको पहिलो नम्बरमै नाम राखेर पनि ज्ञापनपत्र बुझाउँदा टिपेक्स लगाइएको थियो ।
त्यहीकारण केन्द्रीय सदस्यको संख्या २५ बाट २४ भएको थियो । २४ मध्येका केन्द्रीय सदस्यका अनुसार, रिजालले नेतृत्वलाई विकल्पमा सहमत गराउनुपर्ने तर छुट्टै ज्ञापनपत्र बुझाउने र समूह देखाउने काम गर्न नहुने अडान राखेका थिए ।
अन्त्यमा उनले समूहमा सहभागी नहुने बताएपछि टिपेक्स लगाइएको हो ।
कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनको मिति घोषणा गरेर कार्यतालिकामा अघि बढ्नुपर्ने प्रस्ताव राख्दै मध्यमार्गी प्रस्ताव अघि सारेको नेताहरु बताउँछन् ।
