site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजी समूहबीच चुनावको पक्ष–विपक्षमा मतभेद कायमै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई गत कात्तिक २८ गते शुक्रबार जेन–जी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेन–जी र जेन–जी फ्रन्ट नामक तीन जेनजी समूहले सम्झौता–पत्र बुझाए ।

‘जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र’ मा हस्ताक्षर हुनुपर्ने मागमा तीन जेनजी समूह छन् ।

सँगै आफूलाई जेनजी अगुवा दाबा गर्ने सुधन गुरुङले ७७ वटै जिल्लामा जेनजी समूह एकजुट भएको उल्लेख गरी गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका छन् ।

“७ प्रदेशका ७७ वटै जिल्ला, स्थानीय तह, वडा तहसम्म जेनजी एकजुटता भइसकेका छौँ । अब दोस्रो चरण सुरु हुँदैछ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने । हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौँ,” सुधनले लेखेका छन् ।

सुधनले वैकल्पिक नागरिक शक्तिका लागि आह्वान समेत गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा एकजुट भएका जेनजी समूहहरू यतिबेला छिन्नभिन्न छन् । 

फरक–फरक जेनजी समूहमध्ये मिराज ढुंगाना समूह, रक्षा बम, अमित खनाल (ऊर्जा) र सुधन गुरुङ समूह छन् ।

यीमध्ये ढुंगाना समूह भने प्रधानमन्त्रीलाई सम्झौतापत्र बुझाउनेमा संलग्न थिएन । यो समूहले ‘गरिखान देऊ’ नामक समूह घोषणा गरेको छ ।

अमित खनाल (ऊर्जा) को नेतृत्वमा ‘जेनजी मुभमेन्ट अलायन्स’ घोषणा भएको थियो । त्यस्तै, रक्षा बम, युजन राजभण्डारीलगायत टिमको अर्को जेनजी समूह छ, जसले ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरेको थियो ।

गुरुङ नेतृत्वले सुरुमा ‘काउन्सिल अफ जेनजी’ घोषणा गरेको थियो । यी सबै जेनजी समूहको विचारधारा फरक–फरक भएपछि एकजूट हुन सकेका छैनन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै विषयमा जेनजी समूहबीच विवाद छ । ‘गरिखान देऊ’ नामक जेनजी समूह प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मागमा छ, ऊ संसदीय चुनावको पक्षमा छैन ।

चुनावमा पार्टी नखोल्ने तर, जेनजी समूहभित्रबाट चुनाव लड्न चाहनेहरूलाई सघाउने पक्षमा एकथरि जेनजी समूह छ । त्यस्तै, अलायन्स समूह सडकबाटै खबरदारी गर्ने एजेण्डा बोकेको छ ।

“सरकारलाई बुझाउने सम्झौतापत्रका सम्बन्धमा मात्रै एक ठाउँमा आएका हौँ । तथापि, जेनजीका फरक, समूह र फरक विचारधारा छन् । सबै समूहहरू एकजुट हुन कुनै छलफल भएको छैन्,” जेनजी मुभमेन्ट अलायन्सका अगुवा खनाल भन्छन् । 

उनले जेनजी कुनै पार्टी नभएर पुस्ता भएकाले फरक–फरक विचार हुन स्वभाविक रहेको बताए । 

“विचार मिल्ने समूह आपसमा मिल्नुहोला । तर, सहकार्य र एकताका लागि कुनै छलफल या कसरत भएको छैन् । जेनजी कुनै पुस्ता भएकाले आ–आफ्नो विचार र सोच नमिल्नु स्वाभाविक हो,” उनले भने । 

एक प्रदेश संयोजकका अनुसार, सुरुवाती चरणमा सबै जेनजी समूह एकजुट थिए । “सुरुमा सबै जेनजी समूहको एउटै नेतृत्व थियो । सबै जेनजीको नेतृत्व गर्नका लागि म प्रदेश संयोजक थिए । तर, अहिले छुट्टा–छुट्टै जेनजी समूह हुँदा कसको संयोजक हो भन्ने अन्योलमा छु,” उनले भने । 

उनका अनुसार, प्रदर्शनपछि सुधनका क्रियाकलाप मन नपराउने समूह छुट्टिएका थिए । 
 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्