site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले भन्यो– देश अनिश्चयमा छ, राजासहितको सर्वदलीय सम्मेलन गरौँ

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको सर्वदलीय सम्मेलनको माग गरेको छ । सोमबार (मंसिर १) पोखरा नगर अधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन ‘सर्वदलीय सहमति’ अपरिहार्य भएको बताए । 

लिङदेनले राप्रपाले राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार विपक्षीको भूमिका निर्वाह गर्ने बताए । देश अहिले गहिरो अनिश्चयमा रहेको हुँदा राजा, जेनजी समूह र राजनीतिक दलहरू एउटै टेबुलमा बसेर राष्ट्रको हितका लागि साझा मार्गचित्र बनाउनुपर्ने आवाज राप्रपा नेताहरूले चर्को रूपमा उठाए । अहिले गठन भएको अन्तरिम सरकारलाई चेतावनी दिँदै राजा, जेनजी समूह र सबै राजनीतिक दलहरूलाई समेटेर सर्वदलीय सम्मेलन आयोजना गर्न लिङदेनले आग्रह गरे ।

उनका अनुसार, राज्य शक्तिहरूबीच आपसी अविश्वास बढ्दै गएको र राजनीतिक नेतृत्वबाट समाधान आउने आशा कमजोर बन्दै गएको अवस्थामा राष्ट्रलाई स्थायित्व दिने एकमात्र उपाय सबै पक्ष बीचको खुला संवाद र सहमति रहेको स्पष्ट पारे । पोखरामा भएको अधिवेशनमा विभिन्न वडा प्रतिनिधि, कार्यकर्ता र सदस्यहरूको भिड देखिएको थियो । कार्यक्रममा पार्टीको आन्तरिक लडाइँको विषयमा समेत आवाज उठ्यो ।

यसको जवाफ दिँदै राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टीको आन्तरिक लडाइँलाई लिएर बाहिर नकारात्मक सन्देश गएको हुँदा पार्टीभित्रका गल्तीलाई स्वीकार गर्दै, भएको समस्यालाई समाधान गर्दै मिलेर जानुको विकल्प नभएको बताए ।

अधिवेशनले संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे आन्तरिक कार्ययोजनाका विषयमा छलफल समेत गरेको छ । राप्रपा अझ झन् सशक्त रूपमा उठेर देशलाई लुटेर खाने दलका विरुद्ध उभिनुपर्ने आवाज युवा नेताहरूबाट उठेको थियो । अबको लडाइँ सामान्य नभएको तथा देश बेच्ने दलाल र देशलाई शिरमा राख्ने राष्ट्रवादीबीचको लडाइँ भएको केन्द्रीय सदस्य अर्जुन खनालले बताए ।

अधिवेशनमा उठेका राजनीतिक आवाज, नेतृत्वद्वारा व्यक्त जिम्मेवारी र युवापुस्ताले प्रस्तुत गरेको राष्ट्रवादी प्रतिबद्धतासँगै राप्रपाले पोखराबाट संगठन सुदृढीकरणको नयाँ सुरुआत गरेको दाबी गरेको छ ।

देशको बदलिँदो राजनीतिक समीकरणबीच राप्रपाले प्रस्तुत गरेको ‘सर्वदलीय सहमति’को आग्रह कति प्रभावकारी हुन्छ भन्ने कुराले भने अबको राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने संकेतसमेत दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्