काठमाडौं । बिहार विधानसभा चुनावमा विजयी भएका अधिकांश विधायक करोडपति रहेका छन् । आधाभन्दा बढी विधायकहरूमाथि आपराधिक केसहरू दर्ता रहेको पाइएको भारतको गैरसरकारी संस्था एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडीआर)को प्रतिवेदनमा उल्लेख छ ।
चुनावी पारदर्शिताको क्षेत्रमा काम गर्ने संस्था एडीआरले प्रकाशित गरेको प्रतिवेदनले १३० जना नयाँ विधायकहरूमाथि आपराधिक केसहरू दर्ता छन् । यो संख्या गत विधानसभा चुनावको तुलनामा केही घटेको बताइएको छ ।
सन् २०२० को चुनावमा ६८ प्रतिशत विधायकहरूमाथि यस्ता आपराधिक केस थिए । यसपटक यो संख्या घटेर ५३ प्रतिशत आसपास पुगेको छ ।
बिहारको विधानसभा चुनाव २०२५ मा विजयी भएका उमेदवारहरूको पृष्ठभूमि र वर्तमान अवस्थाको विश्लेषण एडीआरले विस्तृत प्रतिवेदन प्रकाशित गरेको छ । उक्त प्रतिवेदनमा सबै २४३ जना विधायकहरूको आपराधिक रेकर्ड, शैक्षिक योग्यता, सम्पत्ति आदिको अध्ययन गरिएको छ ।
यी मध्ये धेरै विजयी उमेदवारहरूमाथि गम्भीर आपराधिक केसहरू दर्ता छन् । एडीआरको तथ्यांक अनुसार, २४३ मध्ये १०२ जना उमेदवारहरूमाथि गैरजमानती अपराध, हत्या, अपहरण, महिला हिंसा, बलात्कार, भ्रष्टाचार, सरकारी खजानामा क्षति र चुनावसँग सम्बन्धित आपराधिक केसजस्ता अपराध रहेको अध्ययनमा पाइएको छ ।
प्रतिवेदनमा यसपटकका विजयी उमेदवारहरूमध्ये १९ जनामाथि हत्या प्रयासको केस रहेको पाइएको छ । ६ जनामाथि हत्याको केस र नौजना विजयी उमेदवारहरूमाथि महिलाविरुद्ध हिंसाको मुद्दा दर्ता भएको उल्लेख गरिएको छ ।
व्यक्तिगत आयको हिसाबले बिहार भारतको सबैभन्दा गरिब राज्य मानिन्छ । तर, यहाँका नेताहरूको सम्पत्तिले भने फरक तस्बिर प्रस्तुत गर्छ ।
एडीआरको प्रतिवेदन अनुसार, यसपटक २४३ मध्ये ९० प्रतिशत विधायक करोडपति छन् । सन् २०२० को चुनावमा यो संख्या ८१ प्रतिशत थियो ।
यसपटक ५५ जना विधायकहरूको सम्पत्ति दश करोड रुपैयाँभन्दा बढी छ । ४४ जना विधायकहरूको पाँचदेखि दश करोड रुपैयाँको सम्पत्ति छ । करिब ११९ जना विधायकहरूको एकदेखि ५ करोड रुपैयाँको सम्पत्ति रहेको पाइएको छ ।
प्रतिवेदन अनुसार, सबै विजयी उमेदवारहरूको कुल सम्पत्ति करिब २१ सय ९२.९३ करोड रुपैयाँ पाइएको छ । यी विधायकहरूको औसत सम्पत्ति नौ करोड रुपैयाँको आसपास छ । सन् २०२० को चुनावमा यो औसत ४.३२ करोड रुपैयाँ थियो ।
हरेक राजनीतिक दलमा करोडपति विधायकहरूको संख्या उल्लेख्य छ । सत्तारुढ जेडीयूका ८५ मध्ये ७८, सत्तारुढ भाजपाका ८९ मध्ये ७७, विपक्षी आरजेडीका २४ मध्ये २४, एलजेपी (राम विलास)का १९ मध्ये १६, कांग्रेसका सबै ६ जना र एआईएमआईएमका सबै पाँचजना विधायक करोडपति छन् ।
विधायकहरूको शैक्षिक अवस्था
यो पटक विजयी भएका ८४ जना विधायकहरू कक्षा ५ देखि १२ सम्म पढेको पाइएको छ । १४७ जना विधायकहरूसँग स्नातक वा त्यसभन्दा बढी उच्च शिक्षाको डिग्री भेटिएको छ ।
सातजना विधायक साक्षर मात्रै छन् । पाँचजना विजयी उमेदवारहरूसँग डिप्लोमा छ ।
विधायकहरूको उमरको प्रसंगमा यसपटक २६ प्रतिशत विधायकहरू ६१ देखि ८० वर्षको उमेर समूहका छन् । ५९ प्रतिशत (१४३ जना) विधायक ४१ देखि ६० वर्षको उमेर समूहका छन् । युवा विधायकहरूको संख्या १६ प्रतिशत छ । प्रतिवेदन अनुसार, ३८ जना विधायकहरूको उमेर २५ देखि ४० वर्षको बीचमा छ ।
गत १४ नोभेम्बरमा घोषित बिहार विधानसभा चुनावको नतिजामा एनडीएले बहुमत प्राप्त गरेको छ । कुल २०२ सिट एनडीए जितेको छ । यसपटक विपक्षी महागठबन्धनको नतिजा निराशाजनक रहेको छ । उनीहरूले यस चुनावमा ३५ सिट जितेका छन् । एडीआर इन्डियाबाट ।