site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आसिम मुनीर कसरी बने पाकिस्तानको सबैभन्दा शक्तिशाली ?

काठमाडौं । पाकिस्तानको सेना प्रमुख आसिम मुनीर त्यहाँको सबैभन्दा शक्तिशाली सैन्य नेता बन्न पुगेका छन् । पाकिस्तानले हालै एक संवैधानिक संशोधनमार्फत आसिम मुनिरको अधिकार क्षेत्रलाई विस्तार गरेको छ । 

अब उनी आफ्नो पदमा जीवनभर रहिरहन सक्नेछन् । उनलाई अब जीवनभरका लागि कानुनी कारबाहीबाट पनि मुक्ति प्रदान गरिएको छ ।

यो २७औँ संवैधानिक संशोधन बिहीबार पाकिस्तानको दुवै सदनमा पारित भएको थियो । केही घण्टापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यसमा हस्ताक्षर कानुनमा परिणत गरेका थिए । 

यो नयाँ संशोधनसँगै मुनीरलाई अब स्थलसेना, नौसेना र वायुसेना तीनै सेनाहरूको कमान्ड सुम्पिएको छ । यो वर्षको मे मा भारत र पाकिस्तानबीच भएको द्वन्द्वपछि आसिम मुनिरलाई फिल्ड मार्शलको दर्जा प्रदान गरिएको थियो ।
नयाँ संशोधन अनुसार, जुन कुनै पनि सैन्य अधिकारी फिल्ड मार्शल, एयर फोर्स मार्शल वा एडमिरल बन्छ, उसले आफ्नो जीवनकालमा सेनाको वर्दी लगाउन पाउनेछ ।
 
उसको पद र सबै अधिकार पनि जीवनभर कायम रहनेछन् र कानुनबाट पनि छुट प्राप्त हुनेछ । यद्यपि, यो नयाँ संशोधनअनुसार सेना प्रमुख मात्र होइन, वर्तमान राष्ट्रपति जरदारीलाई पनि जीवनभरका लागि मुद्दामामिलाबाट छुट दिइएको छ । यसको अर्थ पाकिस्तानको न्यायिक प्रणालीको शक्ति घटेको छ ।

तहरीक–ए–इन्साफजस्ता दलहरूले यस संशोधनको खुला विरोध गरेका थिए । धेरै नेताहरूले संसदमै यो विधेयकको प्रतिलिपीहरू च्यातिदिएका थिए । 

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का प्रवक्ता सैयद जुल्फिकार बुखारीले एएफपीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “यो संशोधन समस्याग्रस्त स्वतन्त्र न्याय प्रणाली र लोकतन्त्रको अन्तिम झड्का हो ।”

आलोचकहरूको भनाइमा यो संशोधनले लोकतन्त्र र न्यायिक स्वतन्त्रतालाई पूर्णरूपमा समाप्त गरिदिएको छ । यसका कारण, यो नयाँ संशोधनअनुसार पाकिस्तानमा अब एक नयाँ अदालती व्यवस्था गठन हुनेछ ।
 
संशोधन अनुसार, अब एक संघीय संवैधानिक अदालत हुनेछ जसको रेखरदेखमा सबै संवैधानिक विषयहरू पेस गरिनेछन् ।

यो परिवर्तनले पाकिस्तानको सर्वोच्च अदालतको प्रमुख अधिकार खोसेको बताइएको छ । अब अदालतहरूले कुनै पनि संवैधानिक परिवर्तनमाथि प्रश्न उठाउन नसक्ने बताइएको छ ।

यो संशोधनलाई मन्जुरी मिल्नासाथ पाकिस्तानी सर्वोच्च अदालतका न्यायाधीशहरूले आफ्नो पदबाट राजीनामा दिएका थिए । अदालतको बैठकमा यस परिवर्तनलाई संविधानमाथि गरिएको गम्भीर हमला भनेर चित्रण गरिएको थियो । 

जर्जटाउन विश्वविद्यालयका प्रोफेसर अकिल शाहले एएफपीसँग भने, “कुनै पनि अन्य लोकतान्त्रिक देशमा सेना प्रमुखलाई तीनै सेनाहरूको प्रमुख नियुक्त गरिँदैन ।” उनले यो निरंकुश शक्तिलाई वैध बनाउने एक तरिका भएको बताए ।

पाकिस्तानका पूर्वसैन्य अधिकारीहरूले पनि यसको आलोचना गरेका छन् । सेवानिवृत्त जनरल नईम खालिद लोढीका अनुसार, “फिल्ड मार्शल आसिम मुनिर पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्ति बनिसकेका छन् । उनलाई शक्तिशाली बनाउनमा पाकिस्तानका नेताहरू पनि जिम्मेवार छन् । आफ्ना अल्पकालीन हितहरूको लागि उनीहरूले पाकिस्तानको दीर्घकालीन हितलाई जोखिममा पारेका छन् ।”

यद्यपि, प्रधानमन्त्री शहबाज शरिफ सरकारले यी परिवर्तनहरू शासनलाई मजबुत बनाउन ल्याइएका दाबी गरेको छ । मे महिनामा भारतसँग भएको द्वन्द्वको बखत पाकिस्तानी सेनाले देखाएको प्रदर्शनको लागि आसिम मुनिरलाई दिइएको पुरस्कार भनेको छ । डीडब्ल्यूडटकम

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्