काठमाडौं । बिहारको १८औँ विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले अनुमानभन्दा धेरै प्रचण्ड सफलता प्राप्त गर्यो । यति ठूलो जितको आकलन एनडीएका घटक दलहरू आफैँले पनि गरेका थिएनन् ।
एनडीएले २०० को अंक पार गर्दै २०२ सिटमा विजय हासिल गर्यो । जबकि, महागठबन्धन ३५ सिटमा मात्र सीमित रह्यो । १५ जिल्लामा त महागठबन्धनले एक सिट पनि जित्न सकेन भने १० जिल्लामा एक–एक सिटमा सीमित भयो ।
सन् २०२५ को चुनावको प्रमुख विशेषता भनेको यसपटक भारतीय जनता पार्टी (भाजपा) २०.०८ प्रतिशत मत ल्याउँदै ८९ सिट जितेर ‘ठूलो दाइ’को भूमिकामा उभिनु रह्यो । जनता दल (युनाइटेड) १९.२५ प्रतिशत मतसहित ८५ सिट जितेर दोस्रो स्थानमा रह्यो ।
दुवै दलले १०१–१०१ सिटमा चुनाव लडेका थिए । अनुमानभन्दा ठूलो जितमा महिलाको भूमिकाले निर्णायक प्रभाव पारेको देखियो । साथै, एनडीएको सांकठनिक सुदृढता, घटक दलबीचको तालमेल, मजबुत प्रचार रणनीति, मतदाता सूची संशोधन र दोहोरो इन्जिन सरकारको प्रदर्शनले पनि जितमा महत्त्वपूर्ण योगदान दियो ।
'मेरो बुथ सबैभन्दा बलियो' अभियानअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले बुथस्तरका कार्यकर्ताहरूसँग गरेको प्रत्यक्ष संवादले एनडीएप्रतिको विश्वास झनै बढाएको विश्लेषण छ ।
राजनीतिक प्राथमिकता र ‘दश हजार’ को प्रभाव
२४३ सिटका लागि भएको चुनावमा महिलाले अभूतपूर्वरूपमा मतदान गरे । निर्वाचन आयोगका तथ्यांकअनुसार, पहिलो चरणमा पुरुषभन्दा ७.४८ प्रतिशत बढी र दोस्रो चरणमा १०.१५ प्रतिशत बढी महिलाले मतदान गरिन् । मिलाएर हेर्दा पुरुषको ६२.९८ प्रतिशतका तुलनामा महिलाको ७१.७८ प्रतिशत मतदान दर्ता भएको छ ।
सुपौलमा पुरुष–महिला मतदान अन्तर २०.७१ प्रतिशत थियो– सबैभन्दा उच्च । यहाँ ६२.९८ प्रतिशत पुरुषको तुलनामा ८३.६९ प्रतिशत महिलाले मतदान गरे । किसनगन्ज (८८.५७ प्रतिशत), कटिहार (८४.१३ प्रतिशत), सुपौल (८३.६९ प्रतिशत) र पूर्णिया (८३.६६ प्रतिशत) मा पनि महिलाको मतदान दर अत्यन्त उच्च रह्यो ।
पत्रकार ज्योत्सना राय भन्छिन्, “बुथमा लागेको लामो लाइनले नै महिलाहरू यसपटक निर्णायक बन्ने संकेत दिएको थियो । काम, सुरक्षा, सम्मान, शिक्षा, स्वास्थ्य जस्ता मुद्दासँगै उनीहरूले आफ्ना राजनीतिक प्राथमिकताहरू स्पष्ट रूपमा तय गरिरहेका छन् । अब मत केवल माइती–ससुराली भावनामा सीमित छैन ।”
महिलाको नीतिश कुमारप्रतिको विश्वास
बिहारका महिलाले मुख्यमन्त्री नीतिश कुमारका विभिन्न महिला–केन्द्रित योजनाप्रतिको विश्वास पुनः व्यक्त गरे । जीविका दिदी र आशा कार्यकर्ताको मानदेय वृद्धि, निःशुल्क बिजुली, सामाजिक सुरक्षा भत्ता ११ सय पुर्याउने जस्ता निर्णयले प्रभाव पार्यो ।
तर, सबैभन्दा निर्णायक प्रभाव भनेको करिब डेढ करोड महिलाको बैंक खातामा पठाइएको दश हजार रुपैयाँ नै रह्यो ।
ज्योत्सना भन्छिन्, “यो रकमले अन्य सबै मुद्दालाई ओझेल पारिदियो । विपक्षले पैसा फर्काउनुपर्छ भन्दै भ्रम फैलाए । तर, मुख्यमन्त्रीले लगातार सभाहरूमा सो दाबी असत्य भएको स्पष्ट पारिदिए, जसको सीधा प्रभाव मतदातामा पर्यो ।”
महिलालाई सरकारी जागिरमा ३५ प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत आरक्षण पहिलेदेखि नै छ ।
युवा मतदाता दीप्ति भन्छिन्, “निःशुल्क रासन, पोसाक, साइकल, छात्रवृत्ति र अन्य सुविधा पाउँदै आएका महिलाले नीतिश कुमारलाई घरका ‘मुखिया’जस्तै ठानेका छन् । त्यसैले भरोसा कायम रह्यो ।”
मादक पदार्थ प्रतिबन्धबारे पुरुषहरू असन्तुष्ट भए पनि महिलाले त्यसलाई सकारात्मक मानिरहेकाले उनीहरू निरन्तर नीतिशको पक्षमा उभिरहेका छन् ।
महिला उमेदवार : संख्या बढे पनि विजय न्यून
दुवै चरणमा २,६१६ उमेदवारमध्ये २५५ महिलामात्र थिए । दलगतरूपमा बसपा २६, जनसुराज २५, एलजेपी (रामविलास) ६, भाजपा १२, जेडीयू १३, आरजेडी २३, ह्याम दुई र आरएलएम एक महिला उमेदवारले टिकट पाएका थिए ।
तर, सन् २०२० मा २५ र २०१० मा ३४ महिलाको तुलनामा यो निराशाजनक थियो । जसमा १० दलीय प्रतिस्पर्धाबाट जम्मा २८ महिला मात्र विधानसभा पुग्न सकेका थिए ।
'जीविका दिदी'हरूको ठूलो भूमिका
महिला मतदाता तीन करोड ५० लाख र 'जीविका दिदी' एक करोड ४० लाख थिए । यी दुवै संख्या राजनीतिक हिसाबले अत्यन्त प्रभावशाली छन् । ११ लाख स्वयं सहायता समूहसँग जोडिएका यी महिलाले योजनाको कार्यान्वयनदेखि प्रचारसम्म महत्त्वपूर्ण भूमिका खेले ।
'जीविका दिदी' बिहार राज्यको ग्रामीण महिला हुन्, जो जीविका नामक सरकारी पहलअन्तर्गत बनेका महिला समूहका सदस्य तथा अगुवा हुन् ।
गौरव कुमार भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण काम महिलालाई बुथसम्म पुर्याउनु थियो । जीविका दिदीहरूले यो भूमिका अत्यन्त सक्रियरूपमा पूरा गरे । मतदानको दिन पनि महिलालाई फोन गरेर सम्झाए ।”
राजनीतिक समीक्षक एके चौधरी भन्छन्, “यी महिलाले सरकारी योजनाका लाभ घर–घर पुर्याइन् । ‘हावादारी गफ’ होइन, ‘वास्तविक लाभ’ को कुरा भएकाले यसको असर मतमा प्रस्ट देखियो ।”
‘जंकलराज’ को न्यारेटिभ महागठबन्धनले तोड्न सकेन
एनडीएले फेरि पनि ‘जंकलराज’ नै बजारमा उतार्यो । ‘कनपटीमा कट्टा’, ‘अप्पू–पप्पू–टप्पू’ जस्ता कटाक्ष, प्रधानमन्त्रीद्वारा भोजपुरी गीतसमेत उद्धृत गरिनु– सबै अभियानमा देखियो ।
राजनीतिक विश्लेषक एसके सिंह भन्छन्, “महागठबन्धन, विशेष गरी आरजेडी सत्तामा आएमा अपराध बढ्छ भन्ने छवि तोड्न असफल रह्यो । उल्टै, तिनका नेताले मोदी–नीतिशमाथि व्यक्तिगत टिप्पणी गर्दै गल्ती गरे ।”
सोसल मिडियामा जातीय गीत र फेसबुक रिलको बाढीले पनि मतदातालाई ‘डरले मत दिने’ मनोविज्ञानमा धकेल्यो । मिथिलेश भन्छन्, “गाउँ–घरमा मान्छेलाई लाग्यो– आरजेडी आए फेरि पुरानै अवस्था फर्किन्छ । यसले तिनका वादालाई कमजोर बनायो ।”
एजेन्सीको सहयोगमा ।