काठमाडौं । चीनले ड्रोन बोक्ने आफ्नो पहिलो जहाजको समुद्री परीक्षण सुरु गरेको छ । ‘टाइप ०७६’ वा ‘सिचुआन’ नामले चिनिने यो विश्वकै पहिलो यस्तो जलथल दुवैमा सञ्चालन गर्न सक्षम आक्रमणकारी जहाज हो, जसमा ड्रोन प्रक्षेपणका निम्ति विद्युत्–चुम्बकीय क्याटापुल्ट (इलेक्ट्रोम्याग्नेटिक क्याटापुल्ट) जडान गरिएको छ ।
बेइजिङले ‘सिचुआन’लाई हल्का विमानवाहक जहाजका रूपमा प्रयोग गरी जीजे–११ स्टेल्थ कम्ब्याट तथा डब्ल्यूजेड–७ रेकनिसन्स ड्रोनजस्ता उन्नत मानवरहित हवाईयान ठूलो संख्यामा बोकाउन र प्रक्षेपण गर्न सक्ने विश्लेषकको अनुमान छ ।
जीजे–११ को विकास एक दशकदेखि जारी छ । यो भित्री आक्रमण मिसन तथा जासुसी जानकारी संकलनका निम्ति बनाइएको मानिन्छ । यद्यपि, यसलाई हावाबाट हावामा भिडन्त र इलेक्ट्रोनिक युद्धमा पनि प्रयोग गर्न सकिने विश्वास गरिन्छ ।
जेट–चालित डब्ल्यूजेड–७ बारे जानकारी सीमित भए पनि खुला स्रोतले यसले करिब चार हजार ३५० माइल उडान भर्न सक्ने, ६० हजार फिटभन्दा माथि उचाइमा पुग्ने र कम्तीमा १० घण्टाभन्दा बढी उडिरहने क्षमता रहेको संकेत गर्ने जनाइएको छ ।
नयाँ एम्फिबियस असाल्ट सिपले जे–३६ नामक पुच्छररहित स्टेल्थ फाइटर पनि बोक्न सक्ने अनुमान गरिएको छ ।
गत वर्ष डिसेम्बरमा इन्टरनेटमा उक्त फाइटरका तस्बिर सार्वजनिक भएका थिए, जसलाई चीनको अतिगोप्य लोप नूर सैन्य अड्डामा देखिएको भनिएको थियो । जे–३६ एउटा ठूलो, तीन इन्जिनयुक्त जेट भएको, लामो दूरीको प्रहरी, कमान्ड–कन्ट्रोल र नेटवर्क–केन्द्रित मिसनका निम्ति डिजाइन गरिएको मानिन्छ ।
चीनको सरकारी मिडियाले टाइप ७६ अर्थात् सिचुआनले जे–३५ पनि बोक्न सक्ने जनाएको छ । यो उन्नत स्टेल्थ फाइटर प्रायः अमेरिकाको अग्रणी एफ–३५ को प्रतिरूप मानिन्छ । चीनले यसलाई अमेरिकी संस्करणसँग झनै समान बनाउने प्रयास गरिरहेको पेन्टागन अधिकारीहरूको भनाइ छ ।
विद्युत्–चुम्बकीय प्रक्षेपण प्रविधिले सिचुआनलाई बेलायत र अमेरिकाजस्ता देशका एम्फिबियस असाल्ट जहाजहरूबाट अलग विशेष बनाएको छ । ती जहाजहरूमा ठाडो उडान–अवतरण प्रविधि प्रयोग गरिन्छ, जसले बढी इन्धन खर्च गर्छ र सीमित पेलोड मात्र बोक्न सक्छ ।
चीनको सरकारी मिडियाका अनुसार, सिचुआनलाई ‘एम्फिबियस ल्यान्डिङ अपरेसन’ (जलथल आक्रमण)को प्रमुख उद्देश्यका निम्ति प्रयोग गरिने भए पनि यसले धेरै ‘रणनीतिक भूमिका’ निभाउनेछ । ताइवानमा सम्भावित आक्रमणजस्ता परिस्थितिमा सैनिक, विमान र अरू उपकरण ढुवानीका निम्ति यस्तो बहुउद्देश्यीय जहाज अत्यन्त उपयोगी हुनसक्छ ।
चीनले पछिल्ला वर्षमा आफ्नो नौसेना क्षमताको तीव्र विस्तार गरिरहेको छ । यसअन्तर्गत व्यावसायिक कार्गो जहाजहरूलाई पनि ल्यान्डिङ अभियानअनुकूल बनाउने कार्य जारी छ । विज्ञको भनाइमा, यी तयारी ताइवानसँग सम्भावित द्वन्द्वलाई ध्यानमा राखेर गरिएका हुन् ।
हाल बेइजिङले जहाजहरूको संख्याका हिसाबले अमेरिकालाई पछाडि पारेको छ । तर, अमेरिकी नौसेना अझै उच्च टन्नेज र धेरै सुपरक्यारियरहरू भएकाले बढी शक्तिशाली मानिन्छ ।
राष्ट्रपति सी चिनफिङले हालै सैन्य नेतृत्वमा गरेको ठूलोस्तरको शुद्धीकरणले भने चीन युद्धका निम्ति पूर्ण रूपमा तयार नभएको अनुमानलाई बढाएको छ ।
तर, चीनले निर्माण कार्य रोकेको छैन । गत हप्ता मात्र सीको उपस्थितिमा चीनको नवीनतम सुपरक्यारियर फुजियन औपचारिक रूपमा नौसेनामा सामेल गरियो । फुजियन चीनको तेस्रो सुपरक्यारियर हो ।
हाल ‘टाइप ००४’ भनेर चिनिने फुजियनपछि आउने अर्को जहाज पहिल्यै निर्माणाधीन छ । उपग्रह तस्बिरहरूले यो चीनको पहिलो आणविक–चालित विमानवाहक जहाज हुने संकेत गर्ने जनाइको छ ।
डिजेल–सञ्चालित जहाजलाई बारम्बार बन्दरगाह फर्केर इन्धन भर्नुपर्ने हुन्छ । तर, आणविक–चालित जहाज लामो समय समुद्रमै रहन सक्छन् ।
चिनियाँ सैन्य विश्लेषक सोङ जोङपिङले सरकारी मिडियालाई बताएअनुसार, सिचुआन फुजियनबाट विद्युत्–चुम्बकीय क्याटापुल्ट तथा अघिल्ला फ्रिगेट र डिस्ट्रोयरहरूबाट रडार प्रविधि समेटेर ‘एकदमै नयाँ पुस्ताको जहाज’का रूपमा निर्माण गरिएको हो ।
सिचुआन सन् २०२४ डिसेम्बरमा पहिलोपटक पानीमा उतारिएको थियो । समुद्री परीक्षणअघि यसको विद्युत्–चुम्बकीय क्याटापुल्ट प्रणालीका दर्जनौँ प्रारम्भिक परीक्षण गरिएका थिए । जारी समुद्री परीक्षण ‘जहाजको शक्ति, विद्युत् तथा अरू प्रणालीको विश्वसनीयता र स्थिरता परीक्षणमा’ केन्द्रित रहने सरकारी मिडियाले जनाएको छ । द टेलिग्राफबाट ।