काठमाडौं । जम्मू–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ११ः२२ बजे भएको विस्फोटमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।
शवहरूको पहिचान हुन बाँकी छ । घाइते २९ मध्ये धेरैजसो प्रहरी कर्मचारी छन् । उनीहरूको ९२ आर्मी बेस र अन्य अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म प्रहरीको तर्फबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।
स्रोतहरूले बीबीसी हिन्दीलाई बताएअनुसार, प्रहरी चौकीभित्र राखिएको केही अमोनियम नाइट्रेट विस्फोट हुँदा उक्त हताहत भएको हो ।
अधिकारीहरूका अनुसार, ‘ह्वााइट कलर’ आतंकी समूहसम्बन्धी केसमा जफत गरिएको विस्फोटक पदार्थको नमूना लिँदै गर्दा विस्फोट भएको थियो ।
यद्यपि, प्रहरी चौकीमा पूरै ३६० किलोग्राम विस्फोटक पदार्थ राखिएको थियो वा त्यसको केही अंश मात्र ल्याइएको थियो भन्ने स्पष्ट भएको छैन । यो विस्फोटक पदार्थ हरियाणाको फरिदाबादबाट ल्याइएको थियो ।
घाइते हुनेमा फरेन्सिक अधिकारीहरू पनि छन् । घटनाका बारेमा एक स्थानीय व्यक्ति तारिक अहमदले समाचार एजेन्सी एएनआईसँग भने, “शुक्रबार राति ११ः२२ बजे ठूलो विस्फोट भयो । हामी डरायौं, के भयो भनेर बुझ्न १५–२० मिनेट लाग्यो । जब मानिसहरू बाहिर निस्किए, तब प्रहरी चौकीमा केही भएको रहेछ भन्ने थाहा भयो ।”
यो विस्फोटक हरियाणाको फरिदाबादबाट गिरफ्तार गरिएका डा. मुजम्मिल गनईको भाडाको घरबाट जफत गरिएको थियो । गनईलाई दिल्ली विस्फोट मामिलामा पहिल्यै पक्राउ गरिसकिएको छ । एजेन्सीहरूको सहयोगमा ।