site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनले बनायो नयाँ क्रुज ‘फ्लेमिंगो’ मिसाइल

काठमाडौं । रूससँग साढे तीन वर्षभन्दा बढी समयदेखि युद्ध गरिरहेको युक्रेनले मैदानमा नयाँ आक्रामक व्यवहार प्रस्तुत गरेको छ ।

रूससँगको युद्धका क्रममा जेलेन्स्कीको सेनाले नयाँ क्रुज सब–सोनिक ‘फ्लेमिंगो’ मिसाइल निर्माण गरेको छ । यसको परीक्षण गर्नका लागि युक्रेनी सेनाले बिहीबार ओर्योलसहित रूसको कब्जामा रहेका धेरै क्षेत्रहरूमा ठूलो हमला गरेको छ । 

युक्रेनको सेनाले रूसमा गरिएको आक्रमणका क्रममा प्रक्षेपित चारवटा ‘फ्लेमिंगो’ क्रुज मिसाइलहरूको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसमा रूसको ओर्योलमा आगो बर्सिएको देखिन्छ ।

युक्रेनी सेनाले नोभेम्बर १३ को रात र बिहानको समयमा रूसमा चारवटा ‘फ्लेमिंगो’ क्रुज मिसाइलद्वारा ठूलो हमला गरेको हो । युक्रेनी सेनाले यसको प्रक्षेपणको भिडियो पनि सेयर गरेको छ । तीमध्ये एक मिसाइल बिहीबार बिहान ओर्योलमाथि प्रक्षेपण गरिएको थियो, जसलाई रूसी वायु–रक्षा प्रणालीले खसालेको दाबी गरेको छ । बाँकी मिसाइलहरूले भने सफलतापूर्वक आफ्ना लक्ष्यहरू भेटेको दाबी गरिएको छ ।

युक्रेनी सेनाका अनुसार, यी हमलाहरूले क्रिमिया र जपोरिज्ज्यामा कब्जा गरिएका भूभागहरूमा रहेका धेरै स्थलहरूलाई निसाना बनाएका थिए । त्यसमा एक तेल डिपो, ड्रोन भण्डारण तथा तयारी सुविधा, हेलिकोप्टर पार्किङ क्षेत्र तथा एक वायु–रक्षास्थल समावेश छन् ।

युक्रेनी सेनाले आफ्ना केही मिसाइल तथा ड्रोनहरूले रूसको भित्री भागमा रहेका स्थलहरूलाई पनि निसाना बनाएको दाबी गरेको छ । यद्यपि, त्यसबाट भएको क्षतिको कुनै आधिकारिक विवरण हालसम्म सार्वजनिक गरिएको छैन । युक्रेनी सेनाले क्षतिको मूल्यांकन भइरहेको जनाएको छ । यता, रूसतर्फबाट भने यो हमलाबारे कुनै प्रतिक्रिया आएको छैन ।

के हो ‘फ्लेमिंगो’ क्रुज मिसाइल ?
‘फ्लेमिंगो’ युक्रेनद्वारा विकसित एक स्वदेशी लामो दुरीको सबसोनिक क्रुज मिसाइल हो, जसलाई रूसविरुद्धका रणनीतिक हमलाहरूका लागि डिजाइन गरिएको छ । यो युक्रेनको स्वदेशी हतियार–क्षमता मजबुत बनाउने प्रयासको एक हिस्सा हो, जसले युद्धका क्रममा विदेशी निर्भरता कम गर्ने लक्ष्य राखेको छ ।

यसको पहिलो युद्धक तैनाथी नोभेम्बर १३, २०२५ मा रूस तथा उसका कब्जा गरिएका क्षेत्रहरूमा भएको आक्रमणसँगै गरिएको हो । आक्रमणमा एकैपल्ट चारवटा ‘फ्लेमिंगो’ मिसाइलहरू रूसतर्फ प्रक्षेपण गरिएको थियो ।

फ्लेमिंगो मिसाइलको विकास युक्रेनी कम्पनी ‘फायर प्वाइन्ट’ले गरेको हो, जसले यसलाई २०२५ को अगस्टमा गोप्य रूपमा प्रस्तुत गरेको थियो । 

यो मिसाइल युक्रेनको ‘दीप स्ट्राइक’ क्षमता वृद्धि गर्ने उद्देश्यले बनाइएको हो, जसले रूसी सैन्य पूर्वाधारलाई टाढाबाट सटीक रूपमा निसाना बनाउन सक्छ ।

फ्लेमिंगो मिसाइल अमेरिकी ‘टोमाहक’भन्दा बढी रेन्ज र पेलोड क्षमतायुक्त दीर्घ–दुरी मिसाइल हो । यसलाई जमिनबाट प्रक्षेपण गरिन्छ । यसको प्रषेपण रेन्ज ३,००० किलोमिटरभन्दा बढी रहेको छ जसले रूसको भित्री इलाकाहरूसम्म पुग्ने क्षमता दिन्छ । यसको गति सबसोनिक अर्थात् अधिकतम ९००–९५० किमी/घण्टा रहेको छ । यसको वारहेड क्षमता १,००० देखि १,१५० किलोग्रामसम्म रहेको छ । यसमा बंकर–भत्काउने वारहेड छ र जसले १० मिटर बाक्लो कंक्रिट छेड्न सक्ने बताइएको छ ।

यसको तौल करिब ६,००० किलोग्राम रहेको बताइएको छ  भने पखेटाको फैलावट करिब ६ मिटर छ । यो आन्तरिक नेभिगेसन तथा जीपीएस–आधारित भएकाले यसले सटीक लक्ष्य निर्धारणमा सहयोग गर्छ ।

युक्रेनको नयाँ ‘फ्लेमिंगो’ क्रुज मिसाइलहरूले आफ्नो पहिलो युद्धमा प्रयोगका क्रममा रूसको ओर्योलमा शक्तिशाली विस्फोटद्वारा आगोको वर्षा गरिदिएको थियो । यस क्रममा रूसको एक थर्मल पावर प्लान्ट निसानामा परेको बताइएको छ ।

यो ‘फ्लेमिंगो’ मिसाइलको पहिलो युद्ध सञ्चालन थियो, जुन युक्रेनका ‘बार्स’ तथा ‘ल्युटी’ ड्रोनहरूसँग समन्वय गरेर गरिएको बताइएको छ ।

फ्लेमिंगो रूसका लागि नयाँ चुनौती बनेको बताइएको छ । यसको लामो दुरी क्षमताका कारण युक्रेनले अब रूसको भित्री भागका अनेक महत्त्वपूर्ण क्षेत्रहरूलाई पनि धम्की दिन सक्नेछ । विज्ञहरूका अनुसार, यो मिसाइलले युद्धको रणनीतिक सन्तुलन परिवर्तन गर्नेसम्मको क्षमता राख्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्