site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्ली विस्फोट : अल–फलाह विश्वविद्यालयको सदस्यता रद्द, नाम र लोगो हटाउन आदेश

काठमाडौं । दिल्ली बम विस्फोटका विषयमा अब कारबाहीको दायरा शैक्षिक संस्थासम्म पुर्‍याइएको छ । भारतीय विश्वविद्यालय संघले हरियाणाको फरिदाबादस्थित अल–फलाह विश्वविद्यालयको सदस्यता रद्द गरिदिएको छ । 

दिल्लीको लाल किल्लानजिक भएको विस्फोटको घटनामा अल–फलाह विश्वविद्यालय मेडिकल कलेजका धेरै चिकित्सक वा शिक्षक संलग्न भएको पाइएको भन्दै संघले बिहीबार त्यसको सदस्यता निलम्बन गरेको हो ।

संघले पत्र लेखेर तुरुन्तै प्रभावकारी हुने गरी आफ्ना सबै प्लेटफर्मबाट अल–फलाह विश्वविद्यालयको नाम र लोगो हटाउन तथा भविष्यमा यसको प्रयोग नगर्न निर्देशन दिएको छ । संघले अब उक्त विश्वविद्यालय राम्रो अवस्थामा नरहेको जनाएको छ ।

संघले भनेको छ, “अल–फलाह विश्वविद्यालयको उपनियमानुसार सबै विश्वविद्यालयहरू तबसम्म सदस्य रहन्छन्, जबसम्म तिनीहरू ‘राम्रो स्थिति’मा हुन्छन् । मिडिया रिपोर्टहरूअनुसार अल–फलाह विश्वविद्यालयको अवस्था ठिक नपाइएकाले यसको सदस्यता तत्काल प्रभावका साथ रद्द गरिएको छ ।”

अल–फलाह विश्वविद्यालयले अब कुनै पनि आधिकारिक गतिविधि गर्न पाउने छैन ।

यसैबीच, भारतको केन्द्र सरकारले अल–फलाह विश्वविद्यालयका सबै वित्तीय रेकर्डको न्यायिक लेखापरीक्षणको आदेश दिएको छ ।

विश्वविद्यालयसँग दिल्ली बम विस्फोटका संदिग्धको के सम्बन्ध छ भनेर पत्ता लगाउन अनुसन्धान थालिएको छ । प्रवर्तन निर्देशालय र अरू वित्तीय अनुसन्धान निकायलाई पनि संस्थाको फन्ड कारोबारको जाँच गर्न निर्देशन दिइएको छ । 

यो निर्णय केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकपछि लिइएको हो । बैठकमा नोभेम्बर १० मा लाल किल्लानजिक भएको विस्फोटको अनुसन्धानबारे समीक्षा गरिएको थियो । हिन्दुस्तान टाइम्सबाट ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्