site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठक– एक महिनामा बोल्ने क्रम सकियो, निर्णयका लागि देउवा पर्खिदै !

काठमाडौं । नेपाली कांग्रेसको गत असोज २८ मा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्नेक्रम लगभग सकिएको छ । तर निर्णय भइसकेको छैन । बैठकको अन्त्यतिर आफ्ना धारणा राख्दै कांग्रेसका महामन्त्री गगन थापाले मंसिरको अन्तिममा विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् ।

करिब एक घण्टा धारणा राखेका थापाले फेरि महामन्त्रीको पदबाट जवाफ दिन पाइने हो कि होइन भनी संशय व्यक्त गर्दै सुरुवात गरेका थिए । जेनजी प्रदर्शन र तोडफोड तथा आगजनी भएको एक महिना चार दिनपछि सुरु भएको बैठक बिहीबार बोल्ने क्रम सकिएर स्थगित भएको छ ।

निर्णयका लागि एक दिन खाली गरेर शनिबार (कात्तिक २९) दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको छ । कांग्रेस केन्द्रीय समितिमा सदस्यहरुलाई बोल्नका लागि ११ मिनेटको समय निर्धारण गरिएको थियो । 
केही सदस्यले ११ मिनेट अगावै आफ्ना भनाई टुंग्याए पनि अधिकांश केन्द्रीय सदस्यहरुले चाहे जति समय पाएका थिए ।

असोजको अन्तिमदेखि बसेको बैठक पटक–पटक स्थगित गर्दै अघि बढेको थियो । कात्तिक १८ यता भने बैठक लगातार बसेको थियो ।  यसलाई विशेष महाधिवेशन पक्षधरहरूले ‘बैठक लम्ब्याएर अलमल्याउने रणनीति’ सँगै उपचारमा रहेका सभापति शेरबहादुर देउवालाई कुरेको बुझेका थिए ।

असोज २८ मा केन्द्रीय समितिलाई सम्बोधन गरेका सभापति शेरबहादुर देउवा कात्तिक ९ गतेमात्र सिंगापुर प्रस्थान गरेका थिए ।  सधैँ कार्यवाहक सभापति खड्कालाई नै दिने र हरेकपटक पत्रसहित दिने गरेका देउवाले यसपटक भने कार्यवाहकको पत्र समेत नदिइएको स्रोतको दाबी छ ।

त्यसैले बोल्ने क्रम लम्ब्याएर निर्णयका लागि सभापति देउवालाई नै पर्खिएको केही नेताहरुको बुझाइ छ । नेता मीन विश्वकर्मा सभापति फर्कँदै गरेको आफूले सुने पनि पक्का जानकारी नभएको बताए । 

तर, देउवाका निकट एक नेताले दिएको जानकारीअनुसार देउवा बिहीबार नै फर्किने तयारी थियो । तर केही दिन टिकट सरेको कारण आजभोलि नै आइपुग्ने तयारीमा रहेको उनले जानकारी दिए । केही नेताहरु भने देउवा आफैँ उपस्थित भएर नियमित महाधिवेशनको मिति तोक्ने दाबी गर्छन् । 

देउवा निकट एक नेताका अनुसार देउवाले पुस मसान्तअघिको मिति तोकेर कार्यतालिका ल्याउन सक्ने उनको बुझाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्