site stats
बाह्रखरी :: Baahrakhari
कला
नाफा र घाटाबीच उभिएका अनमोल

काठमाडौं । ‘नेपो बेबी’ ट्रेन्ड चलिरहेका बेला चलचित्र ‘जेरी अन टप’ पोस्ट प्रोडक्सनमा थियो । नेताका छोराछोरी जसको आयस्रोत छैन, उसैले ‘लक्जरियस’ लाइफ जिइरहेको भन्दै त्यसविरुद्ध अभियान चलिरहेका बेला ‘स्टार किड्स’को चलचित्र रिलिजको तयारीमा थियो । ‘सुपरस्टार’ भनेर चिनिने नायक भुवन केसीका छोरा अनमोल केसी ‘जेरी अन टप’को मुख्य भूमिकामा थिए ।

अनमोल तिनै अभिनेता हुन्, जसले हमेशा ‘स्टार किड्स’को ट्याग बोकेर हिँड्नुपर्‍यो । अनमोलले कस्तो अभिनय गरे ? उनीसँगै आएका समकालीनले कस्तो अभिनय गरिरहेका छन् ? समकालीनहरू अब्बल कि अनमोल ? यी र यस्ता प्रश्न हमेसा उठिरहन्छन् । अनमोलले यी प्रश्नको सामना गरिरहनुपर्नेछ । सेलिब्रिटी भएकाले उनको काममा प्रश्न उठिरहन्छ, जुन स्वाभाविक हो । नेपालमा मात्रै होइन, बलिउड होस् वा हलिउडका ‘स्टार किड्स’ । यी प्रश्नबाट पर छैनन् ।

अनमोल ‘स्टार किड्स’ हुन्, निःसन्देह यो न लुकाएर लुक्छ, न झुट हो । तर, ‘स्टार किड्स’ भन्दैमा उनले यही ट्याग जिन्दगीभर बोकेर हिँड्नुपर्छ भन्ने छैन । जबरजस्ती यही ट्याग उनलाई झुन्ड्याइ दिरहनुपर्छ भन्ने पनि छैन ।

सत्य हो, स्टारका छोरोछोरीलाई डेब्यू गर्न सजिलो थियो, छ र हुनेछ । पहिलो चलचित्र पाउनका लागि आम सर्वसाधारणले जति मिहिनेत गर्नुपर्छ, त्यति पर्दैन । यो अनमोलको हकमा पनि लागु भयो ।

दर्शकमाझ आफूलाई चिनाउन आम सर्वसाधारणले जति पापड बेल्नुपर्छ, त्यति मिहिनेत ‘स्टार किड्स’ले गर्नुपर्दैन । तर, कति टिक्ने र दर्शकको मन जित्ने ? कति लामो रेसको घोडा बन्ने यसमा भने ‘स्टार किड्स’ हुनु र नहुनुमा केही फरक पर्दैन । यो उसको मिहिनेत र क्षमताले निर्धारण गर्ने हो । उसको परिश्रम र लगावको जगमा उभिने करिअरको ग्राफ लामो वा छोटो हुने हो ।

हरेक क्रियाको प्रतिक्रिया हुन्छ । अथवा ‘स्टार किड्स’ हुनुका जति फाइदा छन्, त्यति नै बेफाइदा पनि । जस्तै; पहिलो चलचित्रमा नै उसका सुपरस्टार बुवा–आमाको अभिनयसँग तुलना हुन्छ । जुन, आमसर्वसाधारण परिवारबाट आएको एक्टरको हुँदैन ।

तीन दशकभन्दा लामो समयको अनुभवबाट खारिएका भुवन केसीसँग अनमोलको पहिलो सिनेमाको अभिनयको तुलना हुन्छ । यो ‘स्टार किड्स’ हुनुको बेफाइदा हो । एक हिसाबले भन्ने हो भने अन्याय हो ।

अनमोल अभिनयमा कति पारंगत छन्, त्यो समीक्षाको बेग्लै विषय हो । कति समीक्षकले उनी अभिनीत चलचित्रको समीक्षा गर्दा पनि अनमोलको अभिनयबारे लेखेका छन् । यो अनमोल स्वयंले आत्मसमीक्षा गर्ने पाटो हो ।

तर, अनमोलको चकलेटी कोरियन लुक उनको सबैभन्दा बलियो पक्ष हो । उनले जन्मजात पाएको वरदान हो । त्यसैले युवा जमातमा उनको लोभलाग्दो क्रेज छ ।

अनमोलमा स्टारडम छ वा छैन, त्यो निर्माताले अनुभूत गरेका होलान् । तर, फ्यानफलोइङ राम्रो छ । युवा पुस्तामा उनको लोभलाग्दो क्रेज छ । उनीसँग भेटेर सेल्फी मात्रै खिच्न चाहनेको संख्या साँच्चै ठूलो छ । यो उनको सम्पत्ति हो, सिने करिअरलाई उकास्ने शक्ति पनि हो ।

अनमोलमा मात्रै किन स्टारडमको विषय ? उठान गर्ने हो भने प्रदीप खड्का, दयाहाङ राई, समीर भट्ट, विपीन कार्की, केदार घिमिरेको पनि गर्नुपर्छ, जसले मोटो पारिश्रमिक लिन्छन् । उनीहरूलाई मोटो पारिश्रमिक दिन निर्माता तयार हुन्छन् । उनीहरूका चलचित्र हलमा प्रदर्शन हुँदा स्टारडम देखिन्छ कि देखिँदैन ? यो अध्ययनको विषय हो । अझ प्रस्ट शब्दमा भन्ने हो भने पानीजस्तै छर्लंग छ ।

स्टारपावर त्यो हो, जसले उसको स्टारडमको पावरले कम्तीमा सुरुका दुई दिन उसका सिनेमा हेर्न ठूलो संख्यामा दर्शक हलमा आउँछन् । तेस्रो दिनबाट कन्टेन्ट राम्रो छ भने चलचित्र चल्छ, छैन भने चल्दैन । यसको अर्थ स्टारडम भएको कलाकारका चलचित्रको इनिसियल व्यापार राम्रो हुन्छ ।

अनमोलमा स्टारडम छ भनेर धेरै निर्माता उनलाई ५० लाखभन्दा माथि पारिश्रमिक दिइरहेका छन् । उनको सिने करिअरमा ‘छड्के–२’लाई छोड्ने हो भने इनिसियल राम्रै पनि देखिन्छ ।

अनमोल त्यस्ता नायक हुन्, जसको निर्माताहरूमा डिमान्ड छ । दर्शकमा क्रेज पनि राम्रो छ । तर, उनका चलचित्रको बक्सअफिस ग्राफ भने विगत त्यति राम्रो छैन, जति राम्रो क्रेज छ । सुरुवात पनि खराब रहेको ‘छड्के–२’को लाइफटाइम ग्रसकलेक्सन नै जम्मा २७ लाख थियो ।

त्यसबाहेकका उनका चलचित्रले पनि गज्जबको हाइप बनाउँथे । इनिसियल ग्रसकलेक्सन पनि ठिकठाक नै हुन्थे । चलचित्रको प्रचार अनमोलको चलचित्र आउने भनेपछि यसै हुन्थ्यो । त्यसमा पनि उनले लिएको भनिने पारिश्रमिकले नै उनका चलचित्रको हाइपले धरहराका उचाइ उछिन्थ्यो । समाचारका हेडलाइन बन्थे । समकालीन र अग्रजसँग तुलना हुन्थ्यो । अनि, समकालीन र अग्रज दुवैलाई पछि पारेको समाचारको पेटबोली हुन्थ्यो ।

तर, उनका चलचित्रको लाइफटाइम कलेक्सनको ग्राफ कहिल्यै आकर्षक भएनन् । जुन अनुपातमा उनका चलचित्रले हाइप बनाउँथे, त्यसकै रेसियोमा ग्रसकलेक्सन भने गर्न सकेनन् । त्यो अपजसको भारी अनमोलले सधैँ बोकिरहे । बुवा (भुवन केसी)को स्टारडमको ब्याज खाइरहेको कठोर टिप्पणी झेलिरहे ।

यसको पनि कारण छन्, बजारमा हल्ला गरिएजस्तो उनका चलचित्रले बक्सअफिसमा कलेक्सन गरेका थिएनन् । यसको पुष्टि चलचित्र विकास बोर्डले नै पुष्टि गरेको छ ।

गत वर्ष चलचित्र विकास बोर्डले २५ वर्ष पुगेको अवसर (रजत जयन्ती)मा २५ वर्षमा पाँच करोडभन्दा माथि कमाउने २५ चलचित्रलाई सम्मान गरेको थियो । जसमा अनमोल अभिनीत एउटै पनि चलचित्र परेका थिएनन् । यसको अर्थ नेपाली बक्सअफिसमा उनका चलचित्रले पाँच करोडको ग्राफ क्रस गर्न सकेका छैनन् भन्ने हो । यही कारण बाउको लोकप्रियताको ब्याज अनमोलले खाइरहेको आरोप लाग्दै आयो ।

एक दशक लामो सिने करिअरमा अनमोलका लागि ‘जेरी अन टप’ ट्रनिङ पोइन्ट बन्यो । सम्पूर्ण आलोचकका लागि दिने जवाफ बन्यो । किनकि, ‘जेरी अन टप’ अनमोलको करिअरकै सबैभन्दा सफल चलचित्र बन्यो । बक्सअफिस र समीक्षा दुवै हिसाबले उनका लागि ‘जेरी अन टप’ सुखद सिनेमा बन्यो ।

यस वर्षको दसैँमा बक्सअफिस सुस्ताएको थियो । ठूलो अपेक्षा गरिएका, स्टार कलाकार भएका र राम्रो हाइप भएका चलचित्र नै दसैँमा राम्रोसँग चलेका थिएनन् । बक्सअफिस सुस्ताएको थियो । हलमा फुटफल ओरालो लागेको थियो । राम्रो हाइप बनाएको र वर्षकै सबैभन्दा प्रतीक्षित चलचित्र भनेर प्रचार गरिएकै चलचित्र ‘बलिदान’मा पनि फुटफल राम्रो देखिएको थिएन ।

दसैँमा औसत सिनेमाले पनि राम्रो व्यापार गर्ने गरेको विगतको दृष्टान्त दिँदै जेनजी आन्दोलन, प्राकृतिक प्रकोपलगायत विपत्तिका कारण चलचित्र हेर्ने माहोल नै नरहेको विश्लेषण भइरहेको थियो । यही कारण केही चलचित्रले आफ्नो रिलिज पछि सारेका थिए ।

तर, यही वातावरणमा चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेबाट रिलिज भएको थियो । तर, देशमा चलचित्र हेर्ने अनुकूल वातावरण छैन भन्दाभन्दै पहिलो दिनबाटै यो चलचित्रले दर्शकको उत्साहजनक साथ पायो ।

समीक्षक र दर्शक दुवैको उत्साहजनक साथ पाउँदा सिनेमा हेर्नेको संख्या थपिँदै गयो । जसका कारण ‘जेरी अन टप’ले पाँच करोडको आँकडा पार गर्दा अनमोलको पहिलो सिनेमा बन्यो, जसले पाँच करोड ग्रसकलेक्सन कटायो ।

शनिबारसम्म ‘जेरी अन टप’ले ११ करोड ७१ लाख नेपाली बक्सअफिसबाट मात्रै उठाइसकेको छ । यो आँकडाले ‘जेरी अन टप’ अनमोलको पहिलो ब्लकबस्टर चलचित्र बनेको छ ।

‘जेरी अन टप’ले अनमोलको करिअरलाई उकास्ने काम त गर्‍यो नै यसले सुस्ताएको नेपाली सिनेमाको बजारलाई पनि चलायमान बनायो । पक्कै पनि मौसम र समयले केही हदसम्म चलचित्र हेर्ने माहोल निर्धारण गर्छ । तर, राम्रो चलचित्रले त्यसलाई भत्काउने ल्याकत राख्छ भन्ने पनि अनमोलको ‘जेरी अन टप’ले प्रमाणित गरिदिएको छ ।

कोरियन लुक्सले आफ्नो बेग्लै छवि बनाएर युवा पुस्ताका दर्शकमाझ आफ्नो बलियो पकड राखेका अनमोलले ‘जेरी अन टप’मार्फत यसलाई बरकरार राखेका छन् ।

आफूलाई प्रमाणित गर्न अनमोललाई करिब एक दशक लाग्यो । एक दशकमा उनले नेपाली चलचित्र उद्योगलाई ब्लकबस्ट सिनेमा दिए । यसको क्रेडिट उनले अबका केही वर्ष मजाले लिनेछन् । स्टारकिडकै बलमा होइन 'म आफ्नै बलमा टिकेको नायक हुँ' भनेर उनले छाती फुलाएर भन्न सक्नेछन् ।

तर, यसलाई बरकरार राखेर अघि बढ्न त्यति सहज छैन । उनले समकालीनहरूसँग अभिनयको शिल्प, बक्सअफिसको ग्राफ र दर्शकको रुचि पहिचान गर्दै अगाडि बढ्नु पर्नेछ ।

चलचित्र टिमवर्क हो । टिमको छनोट गर्न सक्नुपर्नेछ । चलचित्रको मेरुदण्ड स्टोरी हो, यसको छनोटमा कुशलता प्रदर्शन गर्न सक्नुपर्नेछ । नेपाली चलचित्र उद्योग, जहाँ इमानका खडेरी छ । इमानदार मेकर चयन गर्ने चुनौती छ । यी परीक्षा पनि अनमोल पास गर्दै अघि बढ्नुपर्नेछ ।

अनमोल जोडिएका चलचित्र अक्सर कुनै न कुनै लफडामा परेकै हुन्छन्, चाहे समय होस् वा पैसा । टिम होस् अथवा कथा । ‘जेरी अन टप’ पनि ‘लफडा’बाट मुक्त थिएन ।

डिजिटल राइट्स र निर्माणपक्षबीच रहेको चर्को मतभेदका बीच मुस्किलले व्यवहार सल्टाएर आएको चलचित्र थियो । ‘जेरी अन टप’ । त्यसैले मेकर चिन्ने अग्नि परीक्षा पनि अनमोलले पास गर्नुपर्नेछ । यी चुनौतीहरूबीच अनमोलले आफूलाई कसरी यात्रा गर्छन्, त्यसमै उनको सिने करिअर निर्धारण हुनेछ ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्