काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सम्बन्धमा कानुनी गृहकार्य अघि बढेको बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यता अध्ययन गरी सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी सुम्पिएको बताए ।
"प्रतिष्ठानले सरोकारवालाहरूसँग छलफल गरी अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा आफ्नो प्रतिवेदन पेस गर्नेछ," मन्त्री अर्यालले भने ।
त्यसैगरी, उनले युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको पनि जानकारी दिए । निर्वाचन आयोगको तथ्यांक उद्धृत गर्दै उनले भने, "यसबाट दुई लाख बढी मतदाता थप भएका छन् ।"