site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीविरुद्ध विद्या भण्डारीले अघि सार्दैछिन् ईश्वर पोखरेल ?

काठमाडौं । अबको एक महिनामा एमालेको ११औँ महाधिवेशन हुँदैछ । आगामी मंसिर २७–२९ का लागि काठमाडौंमा तय गरिएको महाधिवेशनबाट चुनिने नेतृत्वको बहस पनि सुरु भएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले आफू बोलेपछि महाधिवेशन सकिने भन्दै अभिव्यक्ति दिइसकेका छन् । 

सोमबार घर फर्क अभियान कार्यक्रमा ओलीले विधान महाधिवेशनबाट पार्टीको दस्तावेज, विधि तयार भइसकेकाले अब नेतृत्व मात्रै छान्ने दोहोर्‍याए ।

“हामी त्यसयताका घटनाको चित्रण राख्छौँ । त्यसमा छलफल हुँदैन । सोझै नेतृत्व चयनमा जान्छौँ । विधान महाधिवेशन छुट्टै गरेको महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित राख्नलाई,” ओलीले भनेका थिए । 

उनले आफूले बोलेपछि सकिन्छ भन्दा बोल्न नदिएको आरोप लगाउँदै प्रश्न गरेका थिए, “अनि जहाँ पनि बोल्नैपर्ने ? नेतृत्व छान्ने त्यति हो महाधिवेशनको काम । त्यसकारण भाषण महाधिवेशन होइन,” ओलीले भने ।

ओली निकटस्थहरुले महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बन्ने जिकिर थालेका छन् ।  जेनजी आन्दोलनपछि पार्टीमा राजीनामा माग हुँदा ओलीले महाधिवेशनमा फेस गर्न चुनौती दिएका थिए । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले त्यसपछि दिएका  अभिव्यक्तिले आफैँ अध्यक्ष बन्न खोजेको विश्लेषण राजनीतिक वृत्तमा छ ।

एमालेमा उनीविरुद्ध उठ्ने नेताको खोजी असन्तुष्ट पक्षले सुरु गरेको छ । स्रोतका अनुसार पूर्वराष्ट्रपति विद्या भण्डारीको अगुवाईमा ओलीविरुद्ध मोर्चा कस्ने तयारी भएको छ । पार्टीका बैठकमा सदस्यता नवीकरणको माग चर्किए पनि ओली दिन तयार नभएपछि उनीविरुद्ध टिम नै बनाउने नीतिमा विद्या भण्डारी रहेको उनी निकट नेताहरु बताउँछन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको रुपमा अघि सार्ने गरी छलफल भइरहेको ती नेताको जिकिर छ । 

“एमालेमा ओलीविरुद्ध उठ्ने व्यक्ति भएन भन्ने भाष्य यसपटक चिरिन्छ । अब विद्या भण्डारीको खुला समर्थनमा अध्यक्ष मात्रै होइन सबै पदाधिकारीमा उमेदवार खडा गर्ने तयारी हुँदैछ,” ती नेताको जिकिर छ । 
ओलीले भण्डारीको सदस्यताबारे कुरा गर्छु भन्दै अल्मल्याएको निष्कर्षमा उक्त पक्ष पुुगेको छ । 

“नवीकरण भइसकेको सदस्यता हुँदैन भन्ने निर्णय गरियो । पार्टीका बैठकमा कुरा राख्दा सुनुवाई भएन । कुरा गर्छु भन्दै अध्यक्षले अल्मल्याउनुभयो,” एक नेता भन्छन्, “विधि विधानले नचलेपछि अब के कुरा नै बाँकी रह्यो र !”

अर्का एक नेताका अनुसार महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण हुनुअघि बस्ने अन्तिम केन्द्रीय समिति बैठकमा पनि भण्डारीको सदस्यताको माग हुनेछ । महाधिवेशन प्रतिनिधि मनोनीत गर्दा भण्डारीलाई पनि गर्न सक्ने विकल्प बाँकी रहेको उनी बताउँछन् । 

“अन्तिम केन्द्रीय कमिटी बैठकसम्म उहाँको सदस्यताको कुरा उठिरहन्छ । त्यही बैठकबाट उहाँलाई सदस्यता दिएर महाधिवेशन प्रतिनिधि चयन गर्ने बाटो बाँकी नै छ,” ती नेता भन्छन् । 

एमालेको महाधिवेशनका लागि मंसिर १३ गते प्रतिनिधि चयन हुँदैछ । त्यसअघि नै टिम घोषणा गरेर नै अघि बढिने भण्डारी पक्षीय नेताको जिकिर छ । 

“महाधिवेशन प्रतिनिधि छनोटको मिति नजिकिइसकेको छ । अब धेरै दिन कुर्दैनौं । केही दिनमा नै निष्कर्षमा पुग्छौँ । टिम घोषणा गरेर अघि बढ्छौँ,” उनले बाह्रखरीसँग भने । 

मदन भण्डारीको जयन्ती मनाउनका बनाइएको समितिका लागि बनाइएको कार्यालय प्रयोग गरिने गरी छलफल भएको छ ।

“अहिले कार्यलय खोल्दै हिँड्ने कुरा भएन । त्यही कार्यालयलाई प्रयोग गर्ने विषयमा छलफल भएको छ,” ती नेताले भने । 

एमालेमा ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु उभिँदै आएका छन् । 
उनीहरुले पार्टीका बैठकमा पुनर्गठन हुनुपर्ने माग गर्दै आएका छन् ।

सरकारबाट बाहिरिएपछि ओली निकटकै नेताहरु पनि उनीसँग असन्तुष्ट रहेको भण्डारी पक्षको तर्क छ । महाधिवेशनका सम्भावित परिदृश्यलाई हेरेर विकल्पबारे निर्णय लिने तयारीमा भण्डारी पक्ष रहेको छ । 
स्थायी कमिटी सदस्य कर्ण थापा महाधिवेशनमा प्रतिस्पर्धा हुने बताउँछन् । 

“महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ । विभिन्न विकल्पसहितको तयारी अघि बढ्दैछ,” उनले भने । अध्यक्ष बन्नेगरी दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी सक्रिय राजनीतिमा होमिने उद्घोष गरेकी थिइन् । 

तर, ओलीले भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय गराए । गएको साउनमा केन्द्रीय समितिबाट गराएको निर्णय भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पनि पारित भएको थियो । 

पछिल्लो केन्द्रीय कमिटीको बैठकमा ओलीले कुरा गर्ने भन्दै थुमथुम्याएका थिए । त्यसपछि निराश बनेकी भण्डारीले पोखरेललाई समर्थन गरेको नेताहरु बताउँछन् । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्