site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महामन्त्रीलाई जितजंग बस्नेतको प्रश्न– संगठन कब्जा गर्न सोचेको त होइन ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगन थापाको प्रस्तावले नै पुसमा महाधिवेशन असम्भव पुष्टि गरेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा बुधबार धारणा राखेका बस्नेतले महामन्त्रीले राखेको प्रस्तावमा पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश महाधिवेशन नसमेटिनुले पुसमा महाधिवेशन सम्भव नरहेको पुष्टि गरेको बताए ।

“महामन्त्रीज्यूले प्रस्तुत गर्नुभएको पुसमा महाधिवेशन गर्ने प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै छैन,” बस्नेतले भने, “त्यसैले पुसमा महाधिवेशन गर्नु असम्भव छ भन्ने कुरा स्वयं महामन्त्रीको प्रस्तावले नै पुष्टि गर्छ ।”

उनले महाधिवेशनको मागमा महामन्त्री सामेल हुनुमा नियतमा नै प्रश्न उठाए । संगठन कब्जाको नियतबाट विशेष महाधिवेशनको प्रस्ताव र हस्ताक्षर भएको उनको आरोप छ ।

“विशेष महाधिवेशन किन, केका लागि ? नीति परिवर्तनका लागि कि नेतृत्व परिवर्तनका लागि ? विशेष महाधिवेशन कुन नियमावली, कुन कार्यविधिबाट कसरी व्यवस्थापन गर्ने ?,” बस्नेतले भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, महामन्त्रीले पनि यो जिम्मेवारी लिनुपर्छ ।”

उनले विशेष महाधिवेशनबाट सजिलै पार्टी कब्जा गर्न सकिन्छ भन्ने सोचेको भए आफ्नो पनि रगत पसिना पार्टीमा मिसिएको बताए ।

“सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?,” उनले भने, “हाम्रो पनि रगत–पसिना, त्याग–समर्पण मिसिएको छ ।”

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्