काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी प्रदर्शनमा संगठित, योजनाबद्ध र प्रायोजित घुसपैठ भएको दाबी गरेका छन् । गत असोज २८ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबार लेखकले जेनजीको नेतृत्व नखुलेका कारण सरकारले प्रदर्शनअघि नै वार्ता गर्न नपाएको बताए ।
उनले नेतृत्व र योजनाबद्ध कार्यक्रम नभएकैले अर्कै योजना बुनेको समूहले प्रदर्शन ‘हाइज्याक’ गरेर देशलाई धेरै ठूलो क्षति पुर्याएको जिकिर गरे । उनले पछिल्लो परिस्थितिलाई जेनजी प्रदर्शनको परिणामका रूपमा मात्र निष्कर्ष निकाल्नु उचित नहुने पनि बताए ।
“जेनजीकै भाषामा ‘हाइज्याक’ भनिएको छ । प्रदर्शन हाइज्याक गरेर संसद् भवनसहित महत्त्वपूर्ण निकायमा लुटपाट र आगजनी भएको छ,” लेखकले भने, “त्यसकारण पछिल्लो अवस्थालाई जेनजीका माग र जेनजीको प्रदर्शनबाट उत्पन्न परिणामका रूपमा मात्र बुझेर सही निष्कर्षमा पुगिन्न ।”
उनले नयाँ आकांक्षासहित उचित माग राखेर प्रदर्शनमा निस्किएका जेनजी युवाहरूको उचित माग भने सम्बोधन गर्नुपर्ने बताए । उनले माइतीघरबाट शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति लिएका जेनजीको आन्दोलनमा माइतीघरबाटै घुसपैठ सुरु भएर बिजुलीबजार पुल तरिनसक्दै अरू कसैले नै कब्जा गरिसकेको पनि जिकिर गरे ।
घुसपैठ भएकै तत्त्वले भदौ २३ गते संसद् भवन तोडफोड गरेर दुर्घटना गराउन सफल भएको र भदौ २४ गते पूर्णरूपमा कब्जामा लिएको उनको भनाइ छ । लेखकले जेनजीले नै ‘आन्दोलन हाइज्याक भयो’ भनेपछि पनि विद्यार्थीहरूलाई रोकेर राखेर घुसपैठियाले नै दुर्घटनासम्म पुर्याएकाले घटनाको गहिरो अध्ययन हुनुपर्ने बताए ।