काठमाडौं । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफूलाई पदबाट हटाउने खेल पार्टीभित्रैबाट भइरहेको संकेत गरेका छन् । उनले त्यस्तो सम्भावित चुनौतीहरूको सामना गर्न आफू तयार रहेको बताएका उनका सहयोगीहरूले उल्लेख गरेका छन् ।
स्टार्मरका समर्थकहरू उनको पद हाल खतरामा रहेको विश्वास गर्छन् । सम्भवतः आगामी दुई हप्ताभित्र आउने बजेटलगत्तै यो उनको प्रधानमन्त्री र पार्टी नेताको पदमाथि संकट उत्पन्न हुन सक्ने बीबीसीले जनाएको छ ।
समाचारमा उल्लेख भएअनुसार स्टार्मरका निकट सहयोगीहरू उनलाई पदच्युत गर्न खोज्ने गतिविधिहरूप्रति चिन्तित छन् । पार्टी नेतृत्वमाथिको चुनौतीले उत्पन्न गर्न सक्ने गम्भीर राजनीतिक जोखिमबारे सचेत गराउन कटिबद्ध रहेको बताइएको छ ।
नाम नबताउने सर्तमा बीबीसीसँग कुरा गर्दै स्टार्मरको मन्त्रिपरिषद्का एक मन्त्रीले भने, “उनी यसको सामना गर्न तयार छन् । उनी लेबर पार्टीका लागि आम निर्वाचन जित्ने जीवित दुई नेतामध्ये एक हुन् । चुनाव जितेको १७ महिनापछि उनीविरुद्ध प्रतिस्पर्धा गर्न खोज्नु पागलपन हुनेछ ।”
राजनीतिक वृत्तमा फैलिएको अफवाहअनुसार, स्टार्मरलाई प्रतिस्थापन गर्नका लागि विद्रोहको प्रयास हुन सक्ने सम्भावना बलियो बनेको छ । धेरै मन्त्रीहरूलाई सम्भावित उत्तराधिकारीको रूपमा पहिचान गरिएको छ ।
लेबर पार्टीको जनमत सर्वेक्षणका नतिजामा लगातार घटिरहेका कारण स्टार्मरले सम्भावित नेतृत्व चुनौतीबारे महिनौँदेखि अड्कलबाजीको सामना गरिरहेका छन् । द इन्डिपेन्डेन्टलाई स्रोतहरूले बताएअनुसार स्वास्थ्य सचिव वेस स्ट्रिटिङले आफूलाई सम्भावित उत्तराधिकारीको रूपमा प्रस्तुत गर्दै आएका छन् ।
हालैको एक सर्वेक्षणमा लेबर पार्टी पाँचौँ स्थानमा झरेपछि प्रधानमन्त्रीको भविष्यबारे अड्कलबाजी झन् तीव्र बनेको बताइएको छ । लेबर पार्टी वेलायतको ग्रीन्स पार्टीभन्दा पनि पछाडि परेको सर्बेक्षणमा देखिएको छ ।
चुनाव जितेपछि समर्थनमा आएको तीव्र गिरावटका कारण लेबर पार्टीले पुनः गति लिन संघर्ष गरिरहेको बताइएको छ । अहिले पार्टीको औसत जनसमर्थन २० प्रतिशतभन्दा तल झरेको देखिएको छ, जबकि रिफर्म यूके पार्टीको समर्थन ३० प्रतिशतभन्दा माथि पुगेको छ ।
नेतृत्वका सम्भावित उम्मेदवारहरू
आन्तरिक स्रोतहरूले स्ट्रिटिङबाहेक, रक्षामन्त्री जोन हेलीलाई निरन्तरताका उम्मेदवार र भरपर्दो व्यक्तिका रूपमा अगाडि सारिएको विभिन्न बेलायती सञ्चारमाध्यमहरूलाई जानकारी दिएका छन् । अन्य सम्भावित नामहरूमा गृहमन्त्री शबाना महमुद, पूर्वउपप्रधानमन्त्री एन्जेला रेनर र ऊर्जामन्त्री एड मिलिब्यान्ड रहेका छन् ।
“यो अवस्था भयानक छ," स्टार्मरकै मन्त्रिपरिषद्का एक मन्त्रीले बीबीसीलाई भने, "यो स्थिति कोर्बिनको समयभन्दा पनि खराब बनेको छ । मलाई उनी मे महिनासम्म पदमा टिक्न सक्छन् जस्तो लाग्दैन ।”