site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जारी–२’ : औसत चलचित्र

श्रीमान् र श्रीमतीको सम्बन्ध ठिकठाक छ । छोरी छे । ससुरालीसँग सम्बन्ध राम्रो छ । च्याब्रुङ बजाउन र त्यसको लयमा नाच्न नजान्ने नाम्साङ (दयाहाङ राई) च्याब्रुङ बजाउन जान्ने भएको छ । विवाह र मेलामा च्याब्रुङ बजाउन हिँड्न थालेको छ । रसिक बन्दै गएको छ ।

वरध्वज (अनिल सुब्बा)ले नाम्साङलाई च्याब्रुङ ल्याइदिन्छ । बजाउन सिकाउँछ । एक दिन च्याब्रुङ बजाएर घर फर्कंदै गर्दा सेनाले च्याब्रुङ च्यातिदिन्छ । त्यसपछि लय समातेको नाम्साङ र हाङ्माको सम्बन्धमा सुरु हुन्छ, द्वन्द्व । प्रेमिल सम्बन्धमा दरार आउँछ । घरझगडा सुरु हुन्छ ।

त्यसबीचमा प्रतिकारको आरोपमा नाम्साङलाई तत्कालीन माओवादीले नियन्त्रणमा लिन्छ । र, श्रम कारबाहीमा राख्छ । त्यसपछि सुरु हुन्छ, नाम्साङलाई खोज्ने हाङ्मा (मिरुना मगर)को यात्रा । नाम्साङलाई माओवादीले कहाँ लग्यो भन्ने थाहापत्तो हुँदैन । त्यसैले उनी गाउँगाउँ खोज्दै हिँड्छिन् । यही नै चलचित्रको कथा हो । 

‘जारी’मा माओवादी–सरकार द्वन्द्व थिएन । यसको सिक्वेलमा सरकार–माओवादी द्वन्द्वले प्रवेश पायो । यसले सिनेमाको कथालाई यथार्थसँग थप नजिक पुर्‍याउने काम गरेको छ ।

गाउँगाउँमा माओवादी र सेनाको कति त्रास थियो भन्ने दर्शकलाई तत्कालीन यथार्थनजिक यो सिनेमाले पुर्‍याउँछ । यो ‘जारी–२’ को सबल पक्ष हो ।

लिम्बू समुदायको कथालाई च्याब्रुङसँग जोडिएको छ । आफ्नै लयमा बाँचिरहेको परिवारलाई तत्कालीन सरकार–माओवादीको द्वन्द्वले कस्तो असर पारेको थियो भनेर वर्तमान पुस्तालाई देखाइएको छ । आगामी पुस्ताका लागि दस्ताबेजीकरण गरिएको छ । यो प्रशंसनीय पक्ष हो ।

चलचित्रमा सिनेमेटोग्राफीमा खोट लगाउनु पर्दैन । भलै, उम्दा पनि होइन ।

सांगीतिक पक्ष औसत छ । साउन्डमा पनि सिनेमा कर्कस सुनिँदैन । लबजले साउन्डलाई उकास्ने काम गरेको छ ।

ब्याकग्राउन्ड स्कोरमा सिनेमा औसत छ । एकाध ठाउँमा ब्याकग्राउन्ड स्कोर प्रशंसनीय छ । आफूले सुन्न नचाहेको अवस्थामा मान्छेले अरूको सुझावलाई कसरी बेवास्ता गर्छ भन्ने ब्याकग्राउन्ड स्कोरले मजाले प्रस्ट पारेको छ । यस्तै, एकाध ठाउँमा सिनेमामा गजब प्रयोग ब्याकग्राउन्ड स्कोरमा छ ।

आञ्चलिकता सिनेमामा देख्न सकिन्छ । पात्रहरूले प्रयोग गरेका वेशभूषा, लबज, खानपान र प्रप्सले लिम्बू समुदाय र त्यही भूगोलको कथा भएको प्रस्ट पार्छ ।

ठाउँठाउँमा आउने कमेडीले दर्शकलाई हसाउँछ । मंगल सेन (विजय बराल)को पात्रलले ठाउँठाउँमा मजाले हसाउँछ । विवाहको सिन होस् वा श्रीमतीसँग हात समाएर पहिलोपटक हिँडेको अथवा आँखाको उपचार गराएर फर्किएको क्षण, हँसाउने दृश्यले ‘जारी–२’ लाई रसिलो बनाएको छ ।

निर्देशक उपेन्द्र सुुब्बा वास्तविक जीवनमा पनि छिनमै गम्भीर कुरा गर्ने र तुरुन्तै थाहै नपाई ‘स्वीच’ भएर त्यसैलाई ठट्टामा बदल्न सक्ने सर्जक हुन् । यो क्षमता उनले ‘जारी–२’ मा पनि देखाएका छन् । संवेदनशील विषयलाई पनि कमेडीमा रूपान्तरण गर्न सक्ने क्षमता उनले प्रदर्शन गरेका छन् ।

धर्म आफैँमा संवेदनशील विषय हो । यसलाई चलचित्रमा प्रस्तुत गर्दा थोरै मात्र भाँती नपुगे त्यो ठूलो विवादको विषय बन्छ । ‘जारी–२’ मा क्रिस्चियन धर्मको विषय उठाइएको छ । लेखकले कुशलतापूर्वक सुटुक्क क्रिस्चियन धर्मको विषय उठान गरेका छन्, यी दृश्यले मजाले हसाउँछ ।

चलचित्रको प्रचारका क्रममा पत्रकारसँगको भेटमा निर्देशक सुब्बा भनिरहन्थे– लिम्बू समुदायमा च्याब्रुङ सुखको प्रतीक हो । त्यही च्याब्रुङमा भ्वाङ पर्‍यो ।

यसलाई निर्देशकले दुःखको विम्बका रूपमा प्रयोग गरेका छन् । हाङ्मा बल्लतल्ल लड्दैलड्दै खोलो तर्छिन्, यो अर्को विम्ब हो । यो दृश्यबाट चलचित्रको क्लाइमेक्स अनुमान लगाउन सकिन्छ ।

अभिनयमा कलाकारले न्याय गरेका छन् । एंग्री लुक्स र मुभमेन्टमा दयाहाङ सुहाएका छन् । मिरुना, विजय, अनिललगायत कलाकारले चरित्रलाई न्याय गरेका छन् । छोटो भए पनि उपेन्द्र सुब्बाले आफ्नो चरित्रलाई जीवन्त बनाएका छन् ।

सबल मात्र होइन, चलचित्रमा कमजोरी पनि छन् । च्याब्रुङको कथामा एकाएक द्वन्द्व प्रवेश गर्छ । कुनै छनक नै नदिई प्रवेश गरेको द्वन्द्वसँग नाम्साङ र हाङ्मा जसरी जोडिन्छन्, त्यो त्यति धेरै विश्वसनीय छैन ।

तत्कालीन सरकार–माओवादी द्वन्द्वमा यस्ता घटना धेरै घटे । त्यसको बाछिटा अहिले पनि छ । तर, निर्देशकले बनाएको कथाको संसार त्यति धेरै विश्वसनीय छैन । यही नै चलचित्रको कमजोरी हो ।

नाम्साङ र हाङ्माबाहेक खासै धेरै पीडित छैन द्वन्द्वबाट गाउँ । अभिव्यक्तिमार्फत केही देखाउन खोजिएको छ, यो लेखकको कमजोरी हो । राज्यसत्ता पल्टाउन हिँडेकी माओवादी कमान्डरको कति सहजै अन्त्य, नाम्साङको सहजै घर फिर्ती विश्वसनीय छैन ।

चलचित्रको सुरुआती दृश्य छ, जहाँ वरध्वजले नाम्साङलाई च्याब्रुङ ल्याइदिन्छ र यसको महत्त्वबारे उसको भिनाजु (नाम्साङ)लाई लामो प्रवचन दिन्छ । जबकि, नाम्साङ आफैँमा लिम्बू हो । ऊ बजाउन जान्दैन होला, तर यसको सांस्कृतिक महत्त्वबारे त थाहा हुन्छ होला नि ! लेखकले ‘स्पोन फिडिङ’ गरेका छन् ।

ठाउँठाउँमा ‘स्पोन फिडिङ’को क्रमलाई लेखकले निरन्तरता दिन्छन् । मंगल सेन श्रीमतीको आँखाको उपचार गराउन जाँदा उसले सेनाको लामो चेकिङ ठाउँठाउँमा रहेको र गाडीबाट ओर्लिएर झोला बोकेर हिँड्नुपरेको सुनाउँछन् । 

० ० ०

निर्देशक : उपेन्द्र सुब्बा
लेखक : उपेन्द्र सुब्बा 
सम्पादक : निमेष श्रेष्ठ
कलाकार : दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, अनिल सुब्बा आदि । 
ब्यानर : बाँसुरी फिल्मस् 
निर्माता : रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ
सिनेमेटोग्राफर : सञ्जय लामा ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्