site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद हुँदा प्रहरी र कर्मचारीमाथि हातपात समेत गरिएको छ । मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्ट समूहले प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट गरेको हो ।

सोमबार (कात्तिक २४) बिहान जनकपुरधामस्थित मधेसका मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी र कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरिएको जनाइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी गोविन्द थपलियाले असन्तुष्ट समूहले बिहान केही अभद्र व्यवहार गर्न खोजेको बताए । उनले बाह्रखरीसित भने, ‘‘बिहान केही अभद्र व्यवहार गरेका थिए । अहिले भने साम्य भएको छ । सुरक्षा अवस्था बढाइएको छ ।’’

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेससहितका दलले विरोध गरिरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्