site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा रुसले गर्‍यो ५०३ मिसाइल प्रक्षेपण
युक्रेनको किभमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकार देखिएका आवासीय भवन । तस्बिर : रोयटर्स ।

काठमाडौं । रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणपश्चात् युक्रेनका थप धेरै क्षेत्र अन्धकारमय बनेका छन् ।

सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनाले शनिबार बिहान (स्थानीय समय) जनाएको छ ।

युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा रातभर ५०३ मिसाइल प्रक्षेपण गरिएका पत्ता लगाएको थियो । त्यसमा ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए । तीमध्ये अधिकांश मिसाइल प्रतिरक्षालाई छल्दै पार भएका थिए ।

जम्मा नौवटा मात्र सफलतापूर्वक खसालिएका थिए । ४०६ ड्रोन रोक्न युक्रेनी वायुसेना सफल भएको दाबी गरिएको छ ।

रुसी आक्रमण मुख्यतया ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थिए । सोही कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । 

जापोरिझ्झिया क्षेत्रका विभिन्न जिल्लामा आवासीय भवनसहित अरू लक्ष्यमा प्रहार गरिँदा तीनको मृत्यु र ६ जना घाइते भएका गभर्नर इभान फेडोरोभले जानकारी दिए ।

स्थानीय अधिकारीहरूका अनुसार, डोनेट्स्कका दुई जिल्लामा थप दुईजनाको मृत्यु भएको छ । 

खेरसनका गभर्नर ओलेक्सान्द्र प्रोकुदिनका अनुसार, धेरै अग्ला भवन, निजी घर र सवारीसाधनमा आक्रमणबाट थप दुईको मृत्यु र १० जना घाइते भएका छन् ।

करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न खोजिने कूटनीतिक प्रयास क्रमशः कमजोर हुँदै गएको सन्दर्भमा यी घटनाको भएको अलजजिराले जनाएको छ ।

युक्रेनमा कठोर जाडो नजिकिँदै गर्दा रुसको यो हमला युद्धको अर्को  रणनीतिक अभियानको हिस्सा भएको जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्