काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो बताएकी हुन् ।
सरकार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुटेको उनले उल्लेख गरिन् । उनले निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरी खान सकिन्छ भन्ने आशा जगाउँदै त्यसनिम्ति उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको बताइन् ।
निर्वाचन सफल र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका हुने उनले उल्लेख गरिन् । डराउने नभई आत्मविश्वासका साथ अगाडि बढ्न उनले आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले देश आजभन्दा भोलि राम्रो बनाउने उद्देश्यका साथ सबैले हातेमालो गरेर लाग्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको भनाइ पढ्नोस्–
हामी आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेका छौँ । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरी खान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौँ । निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भुूमिका हुन्छ । सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु— डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्, तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो । विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएका छन्, जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौँ । हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन । हामी नै अग्रसर हुने हो । हाम्रा सन्ततिका निम्ति पनि यो देश बस्नलायक छ भनेर ढुक्क हुने अवस्था हामीले नै बनाउने हो । न्युज एजेन्सी नेपाल