बुढापाका गाउँमा, सन्तान सहर वा विदेशमा । पछिल्लो समय नेपाली समाजको यथार्थ यही हो । सन्तान बढेपछि अध्ययन अथवा रोजगारीका लागि विदेश जाने ‘कल्चर’जस्तै बनेको छ । कतिपय ठाउँमा मरन पर्दा शव घाटसम्म पुर्याउने गाउँमा युवा समेत नभएका खबर नै सार्वजनिक भएका छन् ।
यही कथा नै चलचित्र ‘परान’को केन्द्रीय विषयवस्तु हो । गाउँमा बाबुको मान र सान दुवै छ । ठूलो घर छ । त्यही अनुपातमा खेतबारी छ । घरमा काम गर्ने मान्छे छन् । सात गाउँका मान्छेले चिन्छन् । घरबाहिर निस्कँदा नमस्कार फर्काएर भ्याइनभ्याइ हुन्छ । केटाकेटी बाटोमा पर्खिएर बस्छन् ।
बाबुआमाको रजगज भएको त्यही गाउँ छोराहरूलाई भने प्यारो लाग्दैन । जेठो छोरो (सुव्रत आचार्य) अस्ट्रेलिया पुगेका छन् । उनी उतैका नागरिक भइसकेका छन् । माहिलो लक्ष्मीनाथ (प्रवीण खतिवडा) परिवारसहित काठमाडौंमा छन् । कान्छो गोपालनाथ (महेश त्रिपाठी) बाबु धर्मनाथ (नीर शाह)को जोरजबर्जस्तीले कुखुरा फार्म खोलेर गाउँमै बसे पनि ईडीभी परेपछि श्रीमती रूपा (अञ्जना बराइली)को करबलमा अन्ततः अमेरिका जान्छन् ।
गोपालनाथ आफ्नो औषधि भएको बताउने धर्मनाथ त्यति बेला विचलित हुन्छन्, जति बेला गोपालनाथ अमेरिका जाने निर्णय गर्छन् । आफूलाई गोपालनाथले छोड्दैन भन्ने पूर्ण विश्वासमा रहेका धर्मनाथ उसैले छोडेर हिँडेपछि कसरी जिउँछन् यसकै वरपर ‘परान’को कथा घुमेको छ ।
कथा नयाँ होइन । घरघरको समस्या हो । सरल प्रस्तुतिका कारण कथाले मन छुन्छ । कथा र यसको प्रस्तुति नै चलचित्र ‘परान’को सबल पक्ष हो । यसको परान हो ।
नीर शाह सिनेमाको मियो हुन् । चलचित्रको हिरो उनै हुन् । उनको सशक्त अभिनयले मन छुन्छ । महेश र अञ्जनाको अभिनयले कथालाई जीवन्त बनाएको छ । बुद्धि तामाङको अभिनय चलचित्रमा सबैभन्दा सशक्त छ । उनले आफूलाई दिएको चरित्र यसरी निभाएका छन्, सायदै उनले आफ्नो सिने करिअरमा कुनै क्यारेक्टरलाई यति जीवन्त बनाएका होलान् । मदनकृष्ण श्रेष्ठ अनपेक्षित रूपमा चुस्तदुरुस्त देखिएका छन् ।
गोपाल र धर्मनाथको वियोगको क्षणले किक्ककिक्क बनाउँछ । धर्मनाथको छटपटी हरेक नेपाली बाहरूको कथा हो । हरेक घरको कथा हो । यसले कटक्क मन काट्छ ।
गाउँको रजगज सहरमा आएपछि कसरी छटपटी र निराशामा परिणत हुन्छ भनेर गरिएको चित्रण यथार्थ लाग्छ । काठमाडौंका साँघुरा गल्लीमा बस्नेहरूको कति साँघुरो मन छ भनेर देखाएको तितो सत्यले आमसहरिया समुदायलाई मजाले व्यंग्य गर्छ ।
चलचित्रका अधिकांश दृश्यहरू बिझाउँदैनन् । कथा र प्रस्तुतिमा सरलता र शिष्टता छ । यसले दर्शकलाई बाँधेर राखिरहन्छ ।
केही विम्ब छन् सिनेमामा, जसले मन छुन्छ । धर्मनाथसँगै बुढो रुख गर्ल्याम्म ढल्छ । यो सिनेमाको सशक्त विम्ब हो । मौरी अर्को सशक्त विम्बका रूपमा चलचित्रमा देखाइएको छ ।
‘सासले होइन साथले चल्छ’ स्लोगन छ । यो ‘परान’को ‘थिम’ नै हो ।
‘मनको कुरा बुझ्ने भएर त बा भनेका होलान् !’ र, ‘बाले हाम्रा मनका कुरा भन्दै नभनी बुझे, हामीले चाहिँ बाले भन्दा भन्दै पनि बाका मनका बुरा बुझेनौँ ।’ यी संवाद चलचित्रका सशक्तमध्येका डाइलग हुन् । पछिल्लो समय बाबुआमा र छोराछोरीबीचको सम्बन्धको यथार्थ चित्रण हो । यी संवादले समाजको यथार्थसँगै सिनेमाको संवाद विधालाई भर्याङ लगाउने काम गरेका छन् ।
बाबु र छोराबीचको कथा भनेकाले आमालाई सिनेमाले खासै महत्त्व दिएको छैन । तर, जीवित हुन् वा परलोक भइसकेकी हुन्, आमा परिवारमा कहिल्यै छायामा पर्दिनन् । अझ छोराहरू त बाबुसँग भन्दा आमासँग नजिक हुन्छन् । यो तथ्यलाई निर्देशक तथा लेखक दीपक आचार्यले नजरअन्दाज गरेका छन् ।
जेठो र माहिलो छोराको पात्र ‘स्टाब्लिस’ गर्न आवश्यक ठानिएको छैन । त्यसैले जेठो छोरो किन बाबुसँग यति धेरै ‘रुढ’ छ भन्ने प्रस्ट हुँदैन । हरेक दिन सन्तानले बाबुको आशीर्वाद लिने परिवारका छोराछोरी बाबुसँग किन यति धेरै ‘रुढ’ हुन्छन् भन्ने प्रस्ट पारिएको छैन ।
चलचित्र केही लामो छ, एकै प्रकृतिका दृश्य दोहोरिरहन्छन् । यहाँ दोस्रो निर्देशक भनेर भनिने सम्पादकले दृश्य काट्न लोभ गरेको देखिन्छ । ‘परान’लाई अझै कसिलो बनाउन सकिन्थ्यो । संवादमा भने सिनेमा कसिलो छ ।
चलचित्र प्राविधिक पक्षमा औसत छ । सिनेमेटोग्राफी, साउन्ड र कलर औसत छ । चलचित्रको कथाअनुसार कलर टोन दिन सकिन्थ्यो, त्यसमा निर्देशकले ध्यान दिन सकेका छैनन् ।
जसरी सिनेमेटोग्राफरले घरको दृश्य घरीघरी खिच्छन्, जसले घरको महत्त्वलाई देखाएको छ, त्यस्तै कथाअनुसारको टोन दिन सकिन्छ ।
चलचित्र पूर्वी नेपालमा खिचिएको छ । पूर्वी नेपालको साउन्ड झल्किन्छ ? माझकिराँतमा खिचिएको चलचित्रलाई ब्याकग्राउन्ड स्कोरबाट चिनाउन सकिने अवसर दिन सकिन्थ्यो । ब्याकग्राउन्ड स्कोरबाट आञ्चलिकतामार्फत सिनेमाको प्राण भर्न सकिन्थ्यो । यसमा निर्देशकले ध्यान दिएका छैनन् ।
तर, समग्रमा चलचित्र इंगेजिङ छ । ‘परान’ हेर्न लायक छ । आम नेपाली समाज र घरघरको कथा भएकाले अधिकांशलाई ‘रिलेट’ गर्ने चलचित्र हो ।
० ० ०
निर्देशक : दीपक आचार्य
कलाकार : नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली, सुव्रत आचार्य आदि ।
सम्पादक : मित्र डी गुरुङ
कथा : दीपक आचार्य
स्क्रिन प्ले/डाइलग : यम थापा
निर्माता : शेखर गोल्छा, रञ्जीत आचार्य
ब्यानर : बायस्कोप सिनेमा
डीओपी : शिवराम श्रेष्ठ ।
