काठमाडौं । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले निर्वाचनअघि जसरी पनि पार्टी महाधिवेशन गर्नुपर्ने बताएकी छन् । सानेपामा असोज २८ देखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार बोलेकी गौतमले पार्टीभित्रको बहुमतलाई दुरुपयोग नगर्न संस्थापनलाई आग्रह गरिन् ।
“राणाकालमा आफ्नै भारदारी सभामा प्रजातन्त्रको पक्षधरहरूलाई बोलाएर ‘प्रजातन्त्र भनेको बहुमतको शासन हो ?’ भनेर प्रश्न गर्थे । प्रजातन्त्र पक्षधरले हो भनेपछि त्यसै सभाको बहुमतबाट ‘प्रजातन्त्र अनावश्यक’ ठहर्याउने फैसला गर्ने जस्तो गल्ती आजको कांग्रेसको यो केन्द्रीय समितिमा रहेको बहुमतको आडमा गर्न हुँदैन,” गौतमले भनिन्, “केन्द्रीय समितिको बहुमत विचारलाई दबाउने होइन, दिशा दिने काममा लाग्नुपर्छ ।”
उनले पार्टी संस्थापन ओली प्रवृत्तिबाट पनि जोगिनुपर्ने पनि बताइन् । उनले संस्थापन पक्षका नेता कार्यकर्ताको भेलालाई प्रधानमन्त्री बहाल छँदै केपी शर्मा ओलीले युवा संघ र अखिललाई सडकमा पठाएको घटनासँग तुलना गरिन् ।
“नाकमा बसेको झिंगा धपाउन तरबार चलाउनु बुद्धिमानी होइन । झिंगा बस्नै नदिने अर्थात् पार्टीभित्र आत्मसफाइ गर्ने समय आएको छ,” गौतमले भनिन्, “केपी ओली प्रधानमन्त्री हुँदा जस्तै, अखिल र युवासंघलाई सडकमा पठाएर समस्या झन् भड्काउने जस्तो काम अहिले संस्थापन पक्षले अनेक गुटगत वैठक र भेलाबाट यो बैठकलाई निर्देशित गर्नु गलत हुन्छ ।”
उनले पार्टी सुधारका ठोस प्रस्ताव भन्दै पाँच बुँदा अघि सारेकी छन् ।
पाँच बुँदामा के छ ?
१. नेपाली कांग्रेसले ०४६ सालपछि पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ ।
२. भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ ।
३. युवापुस्तालाई नेतृत्वमा ल्याउने स्पष्ट नीति र अवसर दिनुपर्छ ।
४. दलभित्रको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै जनविश्वास पुनःस्थापित गर्नुपर्छ ।
हेर्नुहोस् पूर्णपाठ