काठमाडौं । सिमानामा भएको घातक झडपपछि युद्धविराम बिस्तारसम्बन्धी तालिबानसँगको वार्ता सकारात्मक नहुँदा पाकिस्तानले भारतीय संलग्नताबारे प्रश्न उठाएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले तालिबानसँगको वार्ताले परिणाम दिन नसक्नुको दोष भारतलाई दिएका छन् । भारत वार्तामा उपस्थित छैन ।
एक टेलिभिजन अन्तर्वार्तामा आसिफले भारतले अफगान तालिबान नेतृत्वमा घुसपैठ गरेको र पाकिस्तानसँग तनाव बढ्नुको कारण यही रहेको दाबी गरे । “भारत पाकिस्तानसँग युद्धमा संलग्न हुन चाहन्छ । यो हासिल गर्न उनीहरूले काबुललाई प्रयोग गरिरहेका छन्,” उनले भनेका छन् ।
उनले पाकिस्तानलाई चुनौती दिन भारतले तालिबानलाई उकासीरहेको दाबी गरे । उनको यो टिप्पणीले अफगानिस्तानसँग पाकिस्तानको तनावलाई तालिबान र भारतको बढ्दो मित्रताको परिणामको रूपमा चित्रण गर्ने पाकिस्तानको प्रयासलाई प्रतिनिधित्व गर्छ ।
तालिबानले तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) जस्ता पाकिस्तानविरोधी सशस्त्र समूहहरूलाई अफगान भूमिबाट सञ्चालन गर्न अनुमति दिएको पाकिस्तानको आरोप छ । र, टीटीपी पछाडि भारत रहेको दाबी पाकिस्तानको छ । तर, तालिबानले यो आरोप अस्वीकार गरेको छ । पाकिस्तानसँगको संकटमा भारतीय भूमिकालाई पनि तालिबानले अस्वीकार गरेको छ ।
यद्यपि, विश्लेषकहरू भने आसिफको पछिल्लो टिप्पणीले दिल्ली र काबुलको सम्बन्धमा पाकिस्ताको गहिरो असहमतिलाई देखाउने बताउँछन् ।
सोमबार उत्तरी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा सहायता प्रस्ताव गर्ने पहिलो देशहरूमध्ये भारत पनि एक थियो । भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना तालिबान समकक्षी अमिर खान मुत्ताकीलाई फोन गरे । नयाँ दिल्लीले भूकम्प प्रभावित बल्ख र समानगान प्रान्तहरूमा १५ टन खाद्यान्न पठायो । उनले चिकित्सा सामग्री पनि चाँडै पठाइने जानकारी दिए ।
जयशंकरको यो पहल मुत्ताकीले भारतको ६ दिने भ्रमण पूरा गरेको केही दिनपछि आएको हो । अगस्ट २०२१ मा काबुलमा दोस्रोपटक सत्ता कब्जा गरेपछि अफगान तालिबान नेताको नयाँ दिल्लीको यो पहिलो भ्रमण थियो ।
यो भ्रमणसँगै हालैका वर्षहरूमा भारत र तालिबानबीचको सम्बन्धका बारेमा चर्चा चुलिएको थियो । यस्तो चर्चा गत महिना नयाँ दिल्लीले काबुलमा आफ्नो दूतावास पुनःखोल्ने निर्णय लिएसँगै उच्च भएको थियो ।
तालिबान सत्तामा फर्किएसँगै काबुलमा पाकिस्तानी प्रभाव व्यापक रूपमा बढेको ठानिएको थियो । त्यसबेला भारतले अफगानिस्तानमा आफ्ना अधिकांश कूटनीतिक कार्यहरू रोकेको थियो । तर, त्यसयता क्षेत्रीय परिदृश्य धेरै फेरिएको छ ।