काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नवनिर्वाचित संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सुगौली सन्धि यताकै ठूलो राष्ट्रिय संकट खडा भएको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता सम्मेलनमा प्रचण्डले भने, “झन्डै ६ घण्टाजस्तो यो देश राज्यविहीन बन्न गयो । राष्ट्रका सयौँ वर्षदेखिका धरोहरहरू विध्वंश भए, केही बचेन । यो संकटबाट राष्ट्रलाई जोगाउने अभिभारा कस्को भन्दा मुख्यतः राजनीतिक दलहरूको ।”
उनले २००६ देखि २०८२ सालसम्मका घटनाक्रम हेर्दा कम्युनिस्टहरू नै सच्चा देशभक्त रहँदै आएको दाबी गरे । कम्युनिस्टले राष्ट्रका पक्षमा ठूलो त्याग गर्दै आएको पनि उनले दाबी गरे ।
उनले १० घटकको एकता अभूतपूर्व र असाधारण रहेको पनि बताए ।
फरक प्रसंगमा उनले एकता वार्ता चलेपछि नवगठित पार्टीका वरिष्ठ नेता वामदेव गौतमसँग किताब मागेको बताए । उनले जेनजी आन्दोलनताका आफूसँग भएको सबै किताब जलेको बताउँदै गौतमले लेखेको किताब अहिले अध्ययन गरिरहेको बताए ।
प्रचण्डले नवगठित पार्टीमा गौतमको किताबअनुसार वातावरण बनाउन तयार रहेको पनि उल्लेख गरे ।