काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी एकताले नेपाली राजनीतिमा तरंग पैदा गर्ने बताएका छन् । १० घटकको एकता राष्ट्रिय सम्मेलनमा उनले आफूहरूको अग्नि परीक्षा सुरु हुने बताए ।
“सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ । हामी नेपाली जनताको आशा, भरोसाको केन्द्र बन्ने छौँ । हाम्रो अग्नि परीक्षा सुरु हुनेछ,” उनले भने ।
उनले पुरानै पार्टीको रुप नभएको सन्देश जनतामा दिनुपर्ने बताए । “पुरानो पार्टीको रुप होइन । हाम्रै आ–आफ्ना पार्टीहरूको कमीकजोरीबाट मुक्त भएर, त्यसलाई सुधारेर परिवर्तनको संवाहक,” उनले भने ।
उनले कान्तिकारी चरित्र बोकेकाहरूको पार्टी बनाएको सन्देश दिन आवश्यक भएको बताए । केही वामपन्थी घटकलाई लिएर जान खोजिएको सुनाए । “अझै केही वामपन्थी घटकलाई सँगसँगै लैजान सकिन्छ कि भनेर प्रयास अघि बढाएका थियौँ, छौँ,” उनले भने । उनले एकतामा आउन ढिलो नगर्न आग्रह पनि गरे ।